सोह्र श्राद्धभित्रै तीन जना कर्णेललाई थुन्ने तयारी

महासेनानी महेन्द्रजंग शाहलाई मौखिक ताकेताका वावजुद हाजिर हुन नगएपछि लिखित रुपमा छानबिनका लागि बोलाइएको छ । आगामी २८ गते अवकाशमा जान लागेका शाहलाई त्यसअघि नै खोरमा थुन्ने तयारी गरिएको सैन्य स्रोतको दाबी छ ।
स्रोतका अनुसार, ‘उनलाई थुन्न लागेको आशंका छ । मौखिक रुपमा दुई पटक बोलाइएको थियो । तर, शाहले मौखिक रुपमा बोलाउँदैमा बयानको लागि आउँदिन भनेपछि सेनाले भोलि वा पर्सिसम्म लिखित रुपमा बोलाउने सम्भावना छ।’पहिलेको जर्नेल प्रेम शाही काण्डमा शाहलाई सैनिक विद्रोहमा संलग्न भएको आरोप लगाएर थन्काइएको थियो ।
अर्को स्रोत भन्छ, ‘यसवीच विभिन्न अनलाइनमा योजनाबद्ध समाचार छापियो । खासगरी राजधानी दैनिकमा अमित प्याकुरेलहरुका नामबाट शाहको जताततै घर र जग्गासँगै धेरै वटी श्रीमती भएको समाचार छपाइयो । त्यही समाचार उद्धृत गर्दै प्राड विवाक (कानुन बिभाग) का अधिकृतहरुले अख्तियारमा उजुर हाले । अहिले त्यही अख्तियारको पत्रलाई आधार मान्दै प्राडले उक्त विषयमा छानबिन गर्न र प्रेम शाहीलाईझैँ आर्थिक विषयमा तान्ने र खोरमा हाल्ने योजना बनाएको हो ।’
महेन्द्र पछिल्ला दिनमा घरबाट कार्यालय पुगे पनि हाजिर गरेर निस्कने गरेका थिए । उनलाई सेनाको पुस्तकालयमा थन्काइएको थियो । उनै शाहले जानकारी लिन बोलाउँदा ‘मौखिक होइन,लिखित’ आदेश चाहियो भनेको बुझिएको छ । त्यसपछि नै उनलाई लिखित रुपमा बोलाउने तयारी भएको हो ।
यता उनै शाहको पदावधि यही असोज २८ गते सकिँदै छ । अवकाशको मितिभन्दा १५ दिनअघि पत्र दिने तयारी च । म्याद थप्ने हो भने सेनाले बेलैमा सरकारलाई पत्र पठाउनुपर्ने हुन्छ । अन्यथा,शाह पदावधि सकिनेबित्तिक्कै सर्वोच्चमा जाने विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । उनै स्रोतका अनुसार शाह पनि प्रेम शाहीजस्तै सर्वोच्च जाने निश्चित छ ।
सेनाको नौटंकी भन्दै शाह निकटस्थहरु भन्छन् ‘महेन्द्र सर्वोच्च जान सक्छ भनेर आफँले प्रकाशित गराएको समाचारको आधारमा अख्तियारमा उजुरी हालियो । अनि अख्तियारले सोधेको पत्रको आधारमा कारबाहीको तयारी गरियो ।’
सेनाले यसअघि शाह कार्यरत सैनिक पुस्तकालयमा छानबिनको तयारी थालेको बुझिएको छ । यसनिम्ति अधिकारी थरका एक जना अधिकृतको संयोजकत्वमा गोप्य छानबिन समिति बनाइएको छ ।
यतिखेर उनी मानवअधिकार निर्देशनालयमा कार्यरत छन् । त्यहाँ हाजिरी जनाउने काम मात्रै गरिरहेका छन् । तर, सेनाले मौखिक रुपमा दुई तीन पटक पुस्तकालयबारे जानकारी दिन बोलाए पनि उनी टसको मस भएका छैनन् ।
शाहसँगै लेफ्टिनेन्ट कर्णेल शाम्भराज अर्याल र कुलदीप तिमिल्सिनाबारे पनि छानबिनको तयारी भइरहेको स्रोतको दाबी छ । अवकाशअगावै छानबिनको क्रममा रहेको भन्दै थुन्ने तयारी गरिएसँगै यसअघि शाहविरुद्ध प्रकाशित समाचारबारे जिल्ला अदालत,काठमाडौंमा उजुरी परेको बुझिएको छ ।
शाहलाई अघिल्लो पटक बिरामी पर्नेगरी २ महिनासम्म थुनिएको थियो ।
टिप्पणीहरू