प्रधानमन्त्रीको चीन भ्रमण ‘व्यर्थ’ रहेको पूर्व राजदूतहरुको निश्कर्ष

प्रधानमन्त्रीको चीन भ्रमण ‘व्यर्थ’ रहेको पूर्व राजदूतहरुको निश्कर्ष
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी भएको छ । प्रधानमन्त्री दाहालको साताव्यापी चीन भ्रमणको तेस्रो दिन हिजो राजधानी बेइजिङमा भएको समकक्षीसँगको भेट र द्विपक्षीय वार्तापछि आज बिहान संयुक्त विज्ञप्ति जारी गरिएको छ ।

विज्ञप्तिमा कृषि,पर्यटन, सूचना तथा प्रविधि, शिक्षा,जनशक्तिको क्षमता विकास, कनेक्टिभिटी,डिजिटल अर्थतन्त्रको विकासलगायत शीर्षकमा सम्झौता भएको उल्लेख छ । तर,यसअघि नै स्वीकार गरिएको बिआरआई कार्यान्वयन, दुई मुलुकबीच ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन निर्माण एवम् जलविद्युत परियोजनामा लगानीसम्बन्धी विषयमा आठ पृष्ठको संयुक्त विज्ञप्तिमा कतै केही उल्लेख छैन ।

प्रधानमन्त्री आज बिहान बेइजिङबाट छाेङछिङ नगर पुग्नुभएको छ । त्यहाँ पनि राजनीतिक भेटघाट र कृषि क्षेत्रको अवलोकनमा व्यस्त हुनुभएको देखिन्छ । कृषिको व्यवसायीकरण र औद्योगीकरणबारे जानकारी लिनुभएका प्रधानमन्त्रीले त्यहाँको खेत र कृषिको समेत प्रत्यक्ष अवलोकन गर्नुभएको बताइएको छ ।

"चैतमा बोआओ फोरममा आमन्त्रण गर्दा नगएका प्रधानमन्त्री खेलकूद उद्घाटनमा सहभागी हुँदाको अवस्थाले नै भ्रमणको महत्व र अर्थ झल्किएको पाण्डेको भनाई छ ।"

उहाँ भोलि ल्हासा जाने र पर्सि कैलाश पर्वत घुमेर आगामी शनिबार छन्तु हुँदै स्वदेश फर्कने कार्यक्रम छ । यसै सेरोफेरोमा जनआस्थाले यसअघि चीनका लागि नेपाली राजदूत रहनुभएका पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र पूर्वराजदूत राजेश्वर आचार्यसँग संक्षिप्त कुराकानी गरेको छ । उहाँहरु दुवै जनालाई सोधिएको थियो- ‘प्रधानमन्त्रीको चीन भ्रमणमा भएको हिजोको सम्झौतालाई कसरी हेर्नुभएको छ ?’

पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका भूतपूर्व राजदूत पाण्डेले कुनै पनि भ्रमण सफल वा असफल हुनलाई त्यहाँ जानुअघिको तयारीले निर्धारण गर्ने बताउनुभयो । उहाँको भनाई छ, ‘चीन भ्रमणअघि राज्यले गर्नुपर्ने पूर्व तयारी न गरियो,न भ्रमणमा सरकार प्रमुखले निर्वाह गर्नुपर्ने भूमिका, जिम्मेवारी र दायित्व नै पूरा भयो । सतही रुपमा भएको भ्रमणको कुनै अर्थ छैन ।’ 

पाण्डेले सरकार प्रमुखले संवेदनशील छिमेकी मुलुकको भ्रमण गर्दा अपनाउनुपर्ने सावधानी प्रारम्भमै तोडेको आरोप लगाउनुभएको छ । उहाँले महाशक्ति राष्ट्रहरुको भ्रमणको क्रममा गम्भीर कूटनीतिक नियमको पालना गर्नुपर्नेमा यस पटक त्यो नभएको बताउनुभयो । 

"एक चीन नीतिको रटान लगाउन नछाड्ने तर, दलाई लामाको जन्म दिनमा काठमाडौंमा खुलमखुल्ला कार्यक्रम मनाउँदा कुनै हस्तक्षेप नहुने सरकारी रवैयालाई उहाँले खतरनाक प्रवृत्तिको संज्ञा दिनुभएको छ । "

गत चैतमा बोआओ फोरममा आमन्त्रण गर्दा नगएका प्रधानमन्त्री खेलकूद उद्घाटनमा सहभागी हुँदाको अवस्थाले नै भ्रमणको महत्व र अर्थ झल्किएको पाण्डेको भनाई छ । मुलुक र क्षेत्रीय आर्थिक विकासको घनिभूत छलफल हुने उक्त फोरममा आमन्त्रण गर्दा चीन भ्रमणलाई विषयान्तर गरेको बेलादेखि हिजो मध्यान्हसम्मका प्रधानमन्त्रीको भनाई र गराईलाई विश्लेषण गर्दा सबै छर्लङ्ग हुने उहाँको निचोड छ । ‘उहाँले जे भने पनि प्रधानमन्त्रीको दुई वटा चीन भ्रमण खेलकुदको उद्घाटन र समापनमा सहभागी हुने हैसियतमा सीमित छ,’ पूर्वमन्त्री पाण्डेको निश्कर्ष छ ।

त्यसैगरी गोलमटोल भाषामा गरिएको सम्झौतामा मूर्त विषय उल्लेख नभएको पनि उहाँले बताउनुभयो । उदाहरण दिँदै भन्नुभयो, ‘बिआरआई,ऊर्जा सम्झौताको नामोनिशान नै छैन । माछा,पशु, काँक्रा,घिरौंलाको विषयलाई जोड दिइएको पाइयो ।’ 

दुई दशकअघि चीनका लागि नेपाली राजदूत रहनुभएका आचार्यले पनि हिजो भएको सम्झौताका विषयलाई केलाउँदा सरकार प्रमुखको तहको भ्रमण नभएको बताउनुभयो । चिनियाँहरुले छिमेकी मुलुकको प्रधानमन्त्रीलाई दिएको औपचारिक महत्व र सम्मानको तुलनामा हाम्रोतर्फबाट गर्नुपर्ने तयारी र क्षमता प्रदर्शन कहीं कतै नदेखिएको उहाँको ठम्याई छ ।

आचार्यले भन्नुभयो, ‘हाम्रा बोली,व्यवहार र गतिविधिले चीनलाई सशंकित तुल्याएको छ । हामी क्रमशः अविश्वासिलो बन्दै गएका छौं । अहिलेको नतिजा पनि त्यही हो ।’ 

भ्रमण एक किसिमले दुई पक्षबीच लिने र दिने एउटा कूटनीतिक माध्यम भएको उहाँ बताउनुहुन्छ । एक चीन नीतिको रटान लगाउन नछाड्ने तर, दलाई लामाको जन्म दिनमा काठमाडौंमा खुलमखुल्ला कार्यक्रम मनाउँदा कुनै हस्तक्षेप नहुने सरकारी रवैयालाई उहाँले खतरनाक प्रवृत्तिको संज्ञा दिनुभएको छ । 

चार वर्षअघि चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणको क्रममा भएका कतिपय महत्वपूर्ण सम्झौता र समझदारी हालसम्म पनि नेपालको तर्फबाट कार्यान्वयन नहुनुले चिनियाँ अधिकारीहरुलाई झस्काइदिएको हुनसक्ने आचार्यको आकलन छ । सम्झौता र समझदारी गर्ने,तर कार्यान्वयन नहुने अवस्थाले हाम्रो कूटनीतिक क्षमतालाई भुत्ते बनाउँदै लगेकाले पनि यस पटकको भ्रमणमा कुनै महत्वपूर्ण सम्झौता नभएको उहाँको निश्कर्ष छ ।

टिप्पणीहरू