जमानत जफतपछि सन्देश मिल्यो : रवि लामिछाने, हार स्वीकार्नु : सिके राउत

जमानत जफतपछि सन्देश मिल्यो : रवि लामिछाने, हार स्वीकार्नु : सिके राउत
सुन्नुहोस्

उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलामको निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट ठूलो सन्देश मिलेको बताउनुभएको छ ।

आफ्नो पार्टीका उम्मेदवार मिलन लिम्बूले लज्जास्पद हार व्यहोरेपछि लामिछानेको उक्त अभिव्यक्ति बाहिर आएको छ । निर्वाचनमा विजयी नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिँदै उहाँले आफ्नो पार्टीलाई झिनो मतसँगै ठूलो सन्देश दिएकोमा इलामेली जनतालाई धन्यवाद दिनुभएको छ ।

गृहमन्त्री लामिछानेले ‘इफ् र बट्’ को सहारा नलिइ हार स्वीकार गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

‘हामीलाई मत दिनुहुने र मतसँगै ठूलो सन्देश दिनुहुने सबैप्रति आभारी छु । जित्न सकिएन, सिक्न सकियो’, उहाँले भन्नुभएको छ, ‘त्यसैले कुनै इफ् र बट् को सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ ।’

उता जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि इलामको मत परिणामले नयाँ पार्टीहरुको धरातल देखिएको बताएका छन् । उनले आफ्नो पार्टीको हार स्वीकार्न रास्वपालाई सुझाव दिएका हुन् । 

भनेका छन्, ‘इलाम–२ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) पायो, भने रास्वपाले ७.३ प्रतिशत मत (राम्रो हो, तर रास्वपाको पनि जमानत समेत नजोगिएको) ।’

०८४ को मिसन भन्दै ढुक्क बसेको रास्वपाले बारा र इलामको मत परिणामबाट पाठ सिक्नुपर्ने डा. राउतको भनाई छ । 

‘मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई–तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो’, रास्वपालाई सुझाव दिँदै भनेका छन्, ‘बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु ।’

टिप्पणीहरू