प्रधानमन्त्रीद्वारा राष्ट्रसंघीय महासभालाई सम्बोधन, आपसी विश्वासमा जोड

प्रधानमन्त्रीद्वारा राष्ट्रसंघीय महासभालाई सम्बोधन, आपसी विश्वासमा जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । उहाँले संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो । 

भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको उहाँको भनाई छ । हतियारमा खर्च बढेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री दाहालले २०३० को एजेन्डा कार्यान्वयनमा स्रोतसाधनको चरम अभाव भएको उल्लेख गर्नुभयो  ।

यी सबै गतिविधिले राष्ट्र संघको बडापत्रको प्रमुख लक्ष्यमा गम्भीर असर परेको उहाँको ठहर छ । आफ्नो सम्बोधनमा प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक अवस्था स्थिरतातर्फ अघि बढेको सन्दर्भ जोड्नुभएको छ । उहाँले भन्नुभयो, ‘त्यसैले अब नेपालको ध्यान आर्थिक रूपान्तरणको एजेन्डामा छ ।’

तर कोभिड–१९ महामारी, जलवायु परिवर्तन र बढ्दो भू–राजनीतिक प्रतिस्पर्धाले दिगो विकास लक्ष्यमा भएको प्रगतिलाई खतरामा पारेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । त्यसैले विकास सहायता, प्रत्यक्ष वैदेशिक लगानी, निर्यात प्रवद्र्धन, प्रविधि हस्तान्तरणमा नयाँस्तरको अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता देखिएको बताउनुभयो ।

टिप्पणीहरू