हवाइमार्गबाट बढ्दै मुस्ताङ भित्रने पर्यटक

धार्मिक तथा पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिने हिमालपारीको जिल्ला मुस्ताङ जाने पर्यटकहरु हवाइमार्ग मार्फत बढ्न थालेका छन् । असार देखि भदौको तेश्रो हप्ता सम्म रोकिएको हवाइ उडान शुरु भए पछि हवाइ मार्गबाट पर्यटक आवागमन बढ्न थालेको हो ।
मुस्ताङ जोड्ने एक मात्रै स्थल मार्ग बेनी–जोमसोम–कोरला सडक पनि असार देखि भदौ दोश्रो हप्ता सम्म हरेक दिन जसो अवरुद्ध हुने गरेको भएपनि हाल सुचारु अवस्थामा आएको छ । असार १३ गते पछि अबरुद्ध भएको पोखरा–जोमसोम हवाइ उडान पनि भदौ १७ गते देखि भने शुरु भएको छ । पर्यटकको आवागमन कम हुनुका साथै प्रतिकुल मौसपका कारण अवरुद्ध भएको हवाइमार्ग अहिले शुचारु भएको मुस्ताङ सदरमुकाम जोमसोमको होटल शालिग्रामका सञ्चालक अमृत सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो–‘लामो समय सम्म ठाउँठाउँमा अबरुद्ध हुने गरेको बेनी–जोमसोम सडक पनि अहिले शुचारु अवस्थामा रहेकोले सवारी निर्वाध रुपमा सञ्चालनमा छन् ।’
जोमसोम नागरिक उड्यन कार्यालयका अनुसार अहिले हवाइ मार्ग पनि सुचारु अवस्थामा रहेको छ । हवाइ यातायात सुचारु भए पनि केही समय दैनिक उडान भने न्यून रहेको भएपनि पछिल्लो समय भने उडान संख्या बढेको कार्यालयको भनाई छ । पोखरा—जोमसोमका लागि यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स् र समिट एयरलाइन्सको टुइनेटर जहाजहरुले उडान भर्दै आइरहेका जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘हिजो पाँच वटा फ्लाइट भएको थियो भने आज पनि चार वटा उडान पोखरा–जोमसोमकालागि भए ।’
उडान सुरु हुँदाको दिनमा पोखरा—जोमसोमका लागि समिट एयरको जहाजले ३ वटा उडान भरेको भए पनि त्यस पछिका दिनमा एकएक उडान भएको भए पनि पछिल्लो दिनमा भने उडान संख्या बढेको साहको भनाई छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बर्खायाम मुस्ताङका लागि पर्यटकीय अफ सिजन मानिने र बर्खायाममा मौसम समेत प्रतिकुल हुने भएकाले मनसुनी वर्षा रोकिन थालेपछि पर्यटकीय सिजन पनि सुरु हुन लागेकाले हवाइ कम्पनिहरुले पोखरा–जोमसोम उडान थालेको बताउनुहुन्छ । दुई महिनापछि हवाई यातायात शुरु भएसंगै सुनसान प्राय रहेको जोमसोम विमानस्थलमा चहल–पहल सुरु भएको मुक्तिनाथका पर्यटन व्यवसायी रविन सुवेदीको भनाई छ । मुक्तिनाथ स्थीत होटल अन्नपुर्ण इनका सञ्चालक सुवेदीले भन्नुभयो–‘प्रतिकुल मौसमका कारण रोकिएको पोखरा—जोमसोम हवाइ सेवा सुरु भएसँगै सडक मार्गबाट मात्रै यात्रा गर्नु पर्ने बाध्यता पनि हटेको छ ।’
मुस्ताङमा नियमित उडान अबरुद्ध भएको भए पनि हेलिकोप्टर सेवा भने चलिरहेको थियो । मुस्ताङमा आपतकालिन सेवाका लागि उडान भर्ने काम भने भै रहेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । लगातारको वर्षाले गर्दा बेनी—जोमसोम सडकमार्ग पटकपटक अबरुद्ध हुँदा मुस्ताङमा पर्यटकीय गतिविधि प्राय ठप्प रहेको थियो ।
टिप्पणीहरू