प्रधानमन्त्रीद्वारा अल्पविकसित मुलुकको दिगो विकासमा ध्यान दिन विकसित मुलुकलाई आग्रह

प्रधानमन्त्रीद्वारा अल्पविकसित मुलुकको दिगो विकासमा ध्यान दिन विकसित मुलुकलाई आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकसित मुलुकहरूले अल्पविकसित मुलुकलाई आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । 

संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री दाहालले अल्पविकसित मुलुकहरूको समूहको दिगो विकासका लक्ष्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो ।

सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कोभिड–१९ महामारी, जलवायु परिवर्तन, भूराजनीतिक तनावजस्ता विभिन्न खालका संकट र यसको प्रभावले अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य प्राप्त गर्न समस्या परेको छ ।’

उहाँले सन् २०२१ को तुलनामा २०२२ मा अल्पविकसित मुलुकमा विकसित मुलुकबाट हुने प्रत्यक्ष वैदेशिक लगानी ३० प्रतिशतले घटेको उहाँको भनाई छ । यसले ती मुलुकका पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षामा नराम्रोसँग असर पारेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । 

सन् २०२५ सम्ममा अल्पविकसित राष्ट्रहरूको ऋण संकटलाई सम्बोधन गर्नुपर्ने अवस्था आइसकेको प्रधानमन्त्रीको भनाई छ । अतिकम विकसित मुलुकको औसत वाह्य ऋण सन् २०११ मा ४१ प्रतिशत रहेकामा सन् २०२२ मा ५४ प्रतिशत पुगेको छ ।

टिप्पणीहरू