अमेरिकी अधिकारीसँगको भेटपछि चिनियाँ विदेशमन्त्री मस्को प्रस्थान

अमेरिकी अधिकारीसँगको भेटपछि चिनियाँ विदेशमन्त्री मस्को प्रस्थान

चिनियाँ विदेशमन्त्री वाङ यी माल्टाबाट सोझै रुसको राजधानी मस्को गएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग दुई दिनसम्म माल्टामा छलफल गरेपछि वाङ त्यतैबाट चारदिने भ्रमणमा मस्कोतर्फ लागेको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अक्टोबरमा चीन भ्रमण गर्ने भनिएको छ । त्यसको पूर्वतयारीका लागि वाङ मस्को गएको प्राप्त समाचारमा उल्लेख छ । माल्टामा चिनियाँ विदेशमन्त्री र अमेरिकी सुरक्षा सल्लाहकारबीचको वार्ता पनि अमेरिकी राष्ट्रपति जो बाइडन र सीबीच हुने आगामी भेटवार्ताको पूर्वतयारीका लागि भएको बताइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार उनी चीन–रुस वार्षिक रणनीतिक सुरक्षा वार्तामा सहभागी हुन त्यता गएका हुन् । उता रुसी विदेश मन्त्रालयले पनि चिनियाँ विदेशमन्त्रीले आफ्ना समकक्षी सेर्गेई लाभरोभसँग भेटवार्ता गर्ने जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन रुसको छ दिने भ्रमण पूरा गरेपछि चिनियाँ विदेशमन्त्री मस्को पुग्नुलाई अन्तर्राष्ट्रिय राजनीतिमा अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू