अमेरिका जाने टोलीबाट अन्तिममा जसको नाम रातो मसीले कटाइयो

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्युयोर्क जान लाग्नुभएको छ ।

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन उहाँ साँझ ६ बजे कतार एअरवेजको उडानमा दोहा हुँदै त्यसतर्फ जाने तयारी लगभग पूरा भएको छ । पहिले दुई दर्जनको संख्यामा जाने भनिएको टोली हिजो साँझसम्म घटेर १२ मा झरेको छ ।

तीमध्ये पनि आज प्रधानमन्त्रीसँगै प्रस्थान गर्नेको संख्या भने जम्मा आठ मात्रै छ । प्रधानमन्त्री,उहाँकी छोरी, दुई जना सुरक्षा अधिकृत र फोटोग्राफर मात्रै प्रधानमन्त्रीको सचिवालयबाट परेका छन् । पहिले २७ जनाको टोली तय भएकोमा २४ हुँदै हिजो बेलुकीसम्म १२ मा झरेको हो ।

मितब्ययिताका नाममा प्रधानमन्त्रीको सचिवालयबाट निजी सचिव रमेश मल्ल, राजनीतिक सल्लाहकार हरिबोल गजुरेल,प्रेस सल्लाहकार गोविन्द आचार्य,निजी चिकित्सक डा.युवराज शर्माको नाम हटाइएको छ । त्यसैगरी राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी,मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्रका चार जना सहसचिव,नेपाल टेलिभिजनका चुडामणि नेपाल र नवराज दाहालको नाम पनि सूचीबाट एकाएक हटेको छ । ‘पाँच जनाको खर्च युएनले व्यहोर्ने भनिएकाले सोहीअनुसारको प्रस्ताव ल्याउन अस्ति मुख्य सचिवलाई प्रधानमन्त्रीको आदेश भएको थियो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘सोहीबमोजिम हिजोको क्याबिनेटमा प्रस्ताव पेश भएपछि अरुको नाम टोलीबाट हटेको हो ।’

परराष्ट्र मन्त्रालयबाट अलि धेरै कर्मचारीको नाम हालिएपछि प्रधानमन्त्रीले सचिवालयबाट तीन जना मात्रै पठाउने जानकारी दिँदै अरुको नाम हटाउन लगाउनुभएको बताइन्छ । परराष्ट्र मन्त्रालयबाट मन्त्री एनपी साउद, मन्त्रीका पिए,सचिव भरतराज पौडेल, प्रोटोकोल चिफ दिलिप पौडेल,उत्तम न्यौपाने र प्रवक्ता सेवा लम्साल परेका छन् । तीमध्ये मन्त्री,उनका पिए र प्रवक्ता लम्साल यसअघि नै अमेरिका गइसकेका छन् । प्रधानमन्त्री अमेरिकाबाट असोज ४ गते सोझै चीन जानुहुनेछ । असोज ५ गतेदेखि शुरु हुने चीन भ्रमणमा सहभागी हुने टोलीबारे हिजोको क्याबिनेटले निर्णय गरेको छ ।

तर,चीन भ्रमणमा नेपालबाट जाने टोलीका अधिकांश सदस्य हाङचौ नगई बेइजिङ पुग्ने छन् । प्रधानमन्त्रीसँगै अमेरिका जाने अधिकारीहरु मात्रै हाङचौ पुग्ने हुन् । आगामी शनिबारदेखि शुरु हुने १९ औं एसियाली खेलकुदका कारण हाङ्चौ जाने विमान टिकटको अभाव भएपछि नेपाली प्रतिनिधिमण्डलका अधिकांश सदस्य बेइजिङ जानुपर्ने अवस्था आइपरेको बताइन्छ । तर चार जना मात्रै काठमाडौंबाट सोझै हाङचौ जानेछन् । ती चार जनाबारे भने केही पनि जानकारी दिइएको छैन ।

टिप्पणीहरू