रिजालको निधनले देउवा मर्माहत

रिजालको निधनले देउवा मर्माहत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्नुभएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गर्दै रिजालको निधनबाट पार्टीले एक होनाहार नेतृत्व गुमाएको बताएका छन् । 

 देउवाले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा रिजालले पुर्याएको योगदानको स्मरणसमेत गर्नुभएको छ । 

‘वि.सं.२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा उहाँ प्रहरीको हिरासतमा रहनुभएको थियो । स्वर्गीय रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्रनं.७ को क्षेत्रीय सभापति र कामनपा–१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित हुनुभएको थियो । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका स्वर्गीय रिजालले मानव अधिकारवादी संघसंस्थामा समेत आबद्ध भएर कार्य गर्दै आउनुभएको थियो,’ देउवाका तर्फबाट मुख्यसचिव पौडेलले निकालेको शोक वक्तव्यमा भनिएको छ । 

रिजालको आज बिहान साढे ७ बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
 

टिप्पणीहरू