प्रसंग : मलेसिया–यात्रा

प्रसंग : मलेसिया–यात्रा
सुन्नुहोस्

-डिल्ली पाण्डे

यात्राले रोचक र अविस्मरणीय अनुभव थप्छ। अनि बर्सेनि लाखौं पर्यटकहरू घुम्नका लागि आउँछन्, क्वालालम्पुर। केएल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सडकदेखि टावरसम्मै भेटिन्छन्, नेपाली, भारतीय, पाकिस्तानी र बर्मेली।

मलेसिया मनोहर छ। रोचक अनि चाखलाग्दो। जताततै हरियाली, तिर्खा मर्ने वातावरण। रमाइलो अनि शान्त। मलेसियाको सुन्दरता देखेर पर्यटकहरू छक्क पर्छन्। केएल अर्थात् क्वालालम्पुरले इन्जिनियरिङको एउटा ठूलो र नयाँ आयाम देखाउँछ। यात्रु वा कामदार चकित पर्छन्। अनि रोमाञ्चक अनुभूति गर्छन्।

मलेसियाको चोक, गल्ली, सडक हिँड्दै जाँदा समय बितेको पत्तै हुँदैन। केलाङ नदी राजधानी सहर वरिपरि बेरिएको छ। तीरै–तीर डुल्दा समुन्द्री तटसम्मै पुग्न सकिन्छ।

‘केएल’ मलेसियाको एउटा दृश्य हो– जसलाई पर्यटकहरू विकास र समृद्धिको आँखीझ्याल मान्छन्। जताततै कलकारखाना। कपालको धर्साजस्तै सडक, गगनचुम्बी भवन, केलाङको कञ्चन पानी, स्वच्छ नीलगगन। वाह! ‘केएल’को रंगीन जीवन। तारकीय खान्की।

मलेसिया यात्राको बाँकी बखान हुँदैगर्ला तर आज चाहिँ खानाको चर्चा गरौँ। मनमोहक महानगरमा खानाका लागि हजारौं पर्यटक आउँछन्। ‘बुकिबिन्ताङ’मा दिनदिनै नयाँ–नयाँ मानिसको ओइरो लाग्छ।

उनीहरू मलाय र चाइनीज ‘स्वाद’ लिन आइपुग्छन्। टावरमुनिको विशाल पदयात्रामा प्लाष्टिकका कुर्सी–टेबुल फैलिएका छन्। अनि स–साना स्टल। जालान अलोरमा खानाको अचम्मलाग्दो विविधता छ। सस्तो मूल्यमा माछा–मासु, चाइनीज साग, ओइस्टर सस, फ्राइड चाउचाउ र मिठाइको जिब्रो पट्काउँदै मजा लिन्छन्।

कतिपय स्टलभित्र रक्सी पिइरहेका हुन्छन्। ‘बुकिबिन्ताङ’ पर्यटकीय हिसाबले ‘केएल’को मुख्य केन्द्र हो। पर्यटकहरू रातको समयमा खाना खानाका लागि यहाँ आइपुग्छन्। खान्की बजार रातभरि खुल्छ। तर दिउँसो पूरै बन्द। जालान अलोर लगभग सबै पर्यटकहरूले रोज्छन्।

‘बुकिबिन्ताङ’ खाना केन्द्र हो। जहाँ चिनियाँ समुन्द्री खाना खानका लागि भीड लाग्छन्। रोमाञ्चक संगीत। अन्धो शहरको रोचक बत्ती। मज्जाले खाना खाइरहेका अनेकौं रंगका मानिस। युवायुवती भेटिने पार्लर। अनेकौं क्याफे–स्टल। कहिल्यै नसुत्ने सडक। हिँडिरहेका पैदल यात्री। अनि पाँच तारे होटल। ‘बुकिबिन्ताङ’ रम्दा यस्तो लाग्छ– एउटा सानो संसार छ। भूलभुलैयामा भेटिन्छन्, रैथानेदेखि नेपालीसम्म।

कावी

मलेसियाको ‘लंकावी टापु’ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। लोकप्रियताको दृष्ष्टिकोणले जताततै लोभ थपेको छ। आन्तरिक तथा विदेशी पर्यटकको संगमस्थल ‘लंकावी’ एउटा ऐतिहासिक कथा पनि हो।

चारैतिरबाट समुन्द्रले घेरिएको ‘स्वर्गस्थल’ माथि एकताका ब्रिटिश र जर्मनले खेल मैदान बनाएको रैथानेहरू बताउँछन्। भलै ‘लंकावी–कथा’ प्रथम विश्व युद्धसँग सम्बन्धित छ। इतिहास र मनोरञ्जन लंकावी टापुका आफ्नै दाजुभाइ हुन्। जसको एकदमै फराकिलो गर्व लाग्दो विगत छ। तर पर्यटकहरू कथा कम सुन्छन्, रमाइलो ज्यादै गर्छन्।

मलाय प्रायद्वीपको रमणीय समुन्द्री तटमा भेटिन्छन्, हजारौँ विदेशी। अनि रमाउँछन्, होचो तटदेखि अग्लो जंगलसम्म। लोकप्रिय चेनाङ तटमा ठूलो भीडभाड हुन्छ। कोरोना महामारीपछि लंकावी टापुमा पर्यटकको संख्या ह्वात्तै बढेको अधिकारीले जनाएका छन्। चेनाङसहित थुप्रै सुन्दर समुन्द्री तटहरू छन्, जहाँ मनोरञ्जन र आराम खोज्दै अनेकौं मानिसहरू आउँछन्। लंकावीमा होटल र रिसोर्टको राम्रो विकास भएको छ।

उत्तरी भागको तान्जुङ तट पनि उत्तिकै चर्चित छ। लंकावीलाई विश्वस्तरीय आकर्षणको केन्द्र बनाउन मलेसिया सरकारले पर्याप्त लगानी गरेको छ। समुन्द्री तटका कतिपय भाग व्यवसायिक मनोरञ्जनका लागि खोलिएका छन्।

सुख–दुःख मेटाउन भरिभराउ आगन्तुक, नाटकीय चहलपहल। बालुवादेखि समुन्द्रमाथि खेलिरहेका भेटिन्छन्, युवा–युवती। टापुको शान्त सौन्दर्यता। एकोहोरो बगिरहेको हावाको बेग। अनि समुन्द्र छेउको बेग्लै अनुभूति। साच्चिकै रमाइलो छ।

टिप्पणीहरू