तत्काललाई जातीय हिंसा टर्‍याे, अब अन्त नसरोस्

तत्काललाई जातीय हिंसा टर्‍याे, अब अन्त नसरोस्
सुन्नुहोस्

धरानमा जसोतसो टरेको जातीय द्वन्द्व चर्किने अनुमानका साथ नेपाली सेनाका पूर्वजर्नेल तथा माओवादी नेता कुमार फुदुङले भनेका थिए, ‘अब नेपालमा गृहयुद्ध हुन्छ, धनुकाँड लिएर लड्नुपर्छ ।’

केही समयअघि जुवाको खालबाट पक्राउ परेका फुदुङ र उनीजस्ता केही उग्र व्यक्तिले भड्काउन खोज्दा पनि धरानको सम्भावित हिंसा तत्काललाई टरेको छ । गोरु काटेर खाने नाममा निम्त्याउन खोजिएको उक्त बवण्डर त सामसुम भयो । तर, देशमा आयातित धर्म मानिने क्रिश्चियनहरुको संख्या दिनानुदिन बढ्दो छ । डेढ दशकअघि कपिलवस्तुमा भएको हिन्दू–मुस्लिम झडपभन्दा पनि विकराल शैलीमा धरानमा भड्किन खोजेको जातीय हिंसा देशका निम्ति महंगो पर्ने थियो । यसकारण कि, त्यही नाममा देशको राष्ट्रिय एकता, अखण्डता बिथोल्ने वाह्य शक्तिको चलखेल तीब्र छ ।

राजनीतिक बृत्तमा हेर्दा रवि लामिछाने, बालेन, हर्क साम्पाङजस्ता व्यक्तिहरुको आश्चर्यजनक उदय भएको छ । मूलधारको राजनीतिक नेतृत्वले जनतालाई दिन नसकेको सेवा प्रवाहको असन्तुष्टिस्वरुपमात्रै ती शक्ति आएका हुन् या यस्तै यस्तै वितण्डा मच्चाउने ध्याउन्न हो ? यसतर्फ नागरिक समाज सचेत हुनुपर्ने बेला आएको छ । सरकारले जनतालाई विकास, अवसर र सुशासन दिनुपर्छ । परम्परागत शैलीको शासन सञ्चालनले जनताका ती आधारभूत आवश्यकता पूरा गर्ने सम्भावना छैन ।

नेतृत्वमा जनस्वीकार्य युवाको बाहुल्यता जनताबाट खोजिएको छ । तर, प्रमुख राजनीतिक दलहरु बूढाखाडाबाटै काम चलाउनेतिर लागेका छन् । फलस्वरुप दलीय रुपमा आवद्ध भएका युवा पनि सन्तुष्ट छैनन् । यस्तो स्थितिमा कोही व्यक्ति वा कुनै सानो समूहले कुनै निहुँ निकालेर एउटा बितण्डा चलाउँछ र त्यसले देश नै तरंगित हुने गरेको छ । धरानमा राजनीतिक दलहरुको विगत नेतृत्वबाट त्यहाँको आधारभूत समस्याका रुपमा रहेको खानेपानीको व्यवस्थापन भएन । त्यही विषयलाई उछालेर हर्क साम्पाङले मेयर जिते । खानेपानी व्यवस्थापनका लागि उनले सक्दो प्रयास गरिरहेका थिए, छन् । त्यसमा जनताले साथ पनि दिए । तर, गोरु काट्ने र हिन्दूसहितका अन्य समुदायविरुद्ध घृणाको सन्देश दिएपछि त्यसबाट उनले आलोचनामात्रै खेपिरहेका छन् । यद्यपि, उनी त्यसलाई स्वीकार्न तयार छैनन् । 

नीतिहरुको नेता राजनीति हो । राजनीति सही ढंगले चल्यो भने समाजमा उत्पन्न हुन खोजिरहेका कतिपय अराजकता हल हुन्छन् । राजनीतिक नेतृत्व कसले, कसरी चलाइरहेका छन् ? त्यहाँका कमजोरी के–के हुन् ?  यस्ता विषयलाई निक्र्यौल गर्दै अगाडि बढ्न सकिएन भने अहिले धरानमा टरेको जातीय हिंसा भोलि अर्को ठाउँमा नभड्किएला भन्न सकिँदैन । 
 

टिप्पणीहरू