यौन हिंसा पीडित युवतीमाथि थप यातना

यौन हिंसा पीडित युवतीमाथि थप यातना
सुन्नुहोस्

घरमा काम सघाउने चेलीमाथि कर्के नजर लगाएबापत सरकारी इञ्जिनियर जेल गएका छन् भने युवतीलाई ‘होस्टाइल’ गराउन खटिएका एक जना वकिलसहित सब–इञ्जिनियर धरौटीमा छुटेका र बाँकी २ जना फरार भएका छन् । पुर्पक्षका लागि थुनामा पठाइएका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर हरिकुमार पोखरेलको मुद्दाउपर गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा ठूलै बहस चलेको थियो । 

यस प्रकरणमा मुछिएका वकिलको नाम भोजराज रेग्मी हो । उनले पीडित आस्था बस्नेतसँग मोलमोलाइ गरेको अडियोसहितको समाचार जनआस्थाले प्रकाशन गरेको थियो । हाल उनी फरार छन् । आरोपितलाई बचाउन खोज्ने हिमालय एअरलाइन्सका इञ्जिनियर रञ्जितकुमार जैसवाल भने ३ लाख धरौटीमा छुटेका छन् । पीडितलाई २५ लाख लिएर मिलापत्र गर्न अनेकौं दबाब दिएको आरोपमा गत साउन ३० गते उनलाई प्रहरीले समातेको थियो । काभ्रेका अमित भन्ने अमन तामाङ दबाब दिन पीडितको कोठासम्मै पुगेका थिए । एक जना डिएसपीलाई गाडी खरिदबिक्रीमा ठगेर भागेका उनलाई प्रहरीले खोजिरहेको छ । 

‘त्यो पैसा लिनु, विदेश जानु, गाउँ जाने भए जानु । ऊ त दुईतीन महिना जेल बस्छ, निस्किन्छ । भोलि नराम्रो गर्न सक्छ । मज्जाले सोचविचार गर्नु अनि पैसा लिएर साइड लाग्नु । त्यसपछि ठाउँ छोड्नु, मोबाइल नम्बर पनि चेञ्ज गर्नु’, पीडित युवतीलाई अमनको धम्कीयुक्त सल्लाह हो यो । जवाफमा पीडितले भन्छिन्, ‘म पैसा लिँदिन । त्यो पैसाले मेरो अस्मिता फिर्ता आउँछ ? ऊ दुई दिनको लागि भए पनि किन जेल नजाओस्, म खुशी हुन्छु । उसको हातमा हत्कडी लागेको देख्न पाऊँ ।

ज्यान जाओस् तर अन्यायको विरोधमा लड्छु । म डिप्रेसनमा छु, मलाई थप तनाव दिने काम नगर्नुस् ।’ यी सबै प्रकरणको अडियो प्रमाण जनआस्थासँग सुरक्षित छ । यही मामिलामा अर्का बिचौलिया हुन् सुर्खेतका रामजी भनिने चेतन न्यौपाने । उनले गाउँमा बस्ने पीडितका बुवालाई फोन गरेर थर्काएका थिए । कांग्रेसनिकट न्यौपानेले वडाध्यक्ष समिर कार्कीमार्फत पनि पीडितको बुवालाई मेलमिलाप नगरे जे पनि हुनसक्ने भन्दै धम्काएको स्रोतले बतायो । पक्राउ परेका छुटे, दुई फरार पीडितलाई दबाब दिएको आरोपमा पक्राउ परेका दुई जना छुटेका छन् भने दुई जना फरार सूचीमा छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२, रानीघाट घर भई काठमाडौंको सिनामंगल बस्दै आएका जैसवालसँगै दैलेखको डुंगेश्वर गाउँपालिका वडा नम्बर ५ घर भएर सिनामंगल बस्ने न्यौपाने पनि पक्राउ परेका थिए । 

काठमाडौं जिल्ला अदालतको इजलाश १३ नम्बरमा भएको दुई दिन लामो बहसपछि न्यायाधीश भोलानाथ ढकालले उनीहरूलाई साढे तीन लाख धरौटीमा छोड्न आदेश दिएका हुन् । पीडितको तर्फबाट १७ जनाले वकालतनामा भरेका थिए । बद्रि भुसाल, दिनेश त्रिपाठी र दुई जना सरकारी वकिलसहित ९ जनाले गरेको बहश शुक्रबार टी टाइमसम्म चलेको थियो ।’ ५० हजार, एक लाख रूपैयाँसम्म मागेको भए पनि हुन्थ्यो तर, साढे तीन लाख धरौटी सुनाउनु भनेको ठूलो सजायँ हो’, स्रोतले भन्यो । यौन शोषणलाई अवसर भनेर व्याख्या गर्ने अधिवक्ता भोजराज रेग्मी भने अहिले बेपत्ता छन् । 

पीडितको नम्बर दिने वडाध्यक्ष

रामेछाप नगरपालिका–७ का वडाध्यक्ष समिर कार्कीले पीडितका बुवाको नम्बर बिचौलिया पक्षलाई बाँडेको तथ्य खुलेको छ । उनको गैरजिम्मेवारीपनका कारण विभिन्न नम्बरबाट फोन गरेर गुण्डाहरूले धम्क्याएको पीडित पक्षको आरोप छ । यता, वडाध्यक्ष कार्कीले भने आफूबाट गल्ती भएको स्वीकार्दै भरत चौलागाईंलाई मात्रै नम्बर दिएको दाबी गरेका छन् । साथै, आफूले पीडितसँग माफी पनि मागेको उनले बताए । फोन गरेर धम्काउने सबैले वडाध्यक्ष कार्कीकै नाम लिएको पीडितको भनाइ छ । मावलीको हजुरबुवा–हजुरआमालाई पनि धम्की आएको पीडित बस्नेत बताउँछिन् । ‘मेरो मामाघरमासमेत फोन गरेर धम्काइएको छ । बुवा प्रेसरको रोगी, यिनीहरूले दिएको दबाबका कारण बेहोस् भएर ढल्नुभएछ । 

बज्रपातमाथि बज्रपात 

गाउँमा खान–बस्नकै दुःख भएपछि राजधानी छिरेकी बस्नेतमाथि आइपरेको बज्रपात सानो छैन । २०७२ सालको महाभूकम्पले भत्काएको घर बनाउन लागेको ऋण तिर्न काठमाडौं आएकी उनले घरमा सहयोगीको रूपमा काम गर्न थालिन् । त्यहींबाट उनको जीविकोपार्जन, भाइबहिनीको पढाइ र घरखर्च चलिरहेको थियो । यहीं हुँदा विवाह भयो । भखरै २४ वर्ष लागेकी बस्नेतको वैवाहिक जीवन सुखद् रहेन । श्रीमान्ले कहिल्यै आफ्नो घर लगेनन् । मावलको घरमा लगेर राखिदिए । श्रीमान् हुनुको एउटा पनि कर्तव्य पूरा नगरेपछि सम्बन्धविच्छेदको निर्णय गरिन् । हाल सो मुद्दा चलिरहेको छ । एक्लै बस्दै आएकी छन् । मानसिक तनाव खेपिरहेकी उनीविरुद्ध उच्च अदालत, पाटनमा हनीट्रयापलगायत अनेकौं मुद्दा हालिएको छ । हरिकुमार पोखरेलको तर्फबाट अधिवक्ता राधिका खतिवडा, कृष्णप्रसाद सापकोटालगायतले मुद्दा लडिरहेका छन् ।

टिप्पणीहरू