कृष्णबहादुर महराका आफन्त पक्राउ,सिआइबीमा बयान दिने छोरा राहुलको तयारी

कृष्णबहादुर महराका आफन्त पक्राउ,सिआइबीमा बयान दिने छोरा राहुलको तयारी
सुन्नुहोस्

माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा बयान दिन जाने भएका छन् । उच्च स्रोतका अनुसार राहुल विद्युतीय चुरोट (भेप) मा राखेर ल्याइएको नौ किलोग्राम सुन काण्डमा सिआइबीको अनुसन्धानमा संलग्न भएको पुष्टि भएपछि बयानका लागि ब्युरोको कार्यालय महाराजगञ्ज जान लागेका हुन् ।

सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको उल्लेख छ । आरोपमा कल डिटेल रेकर्डसमेत संलग्न गरिएको छ । प्रहरीले सोधपुछ नगरेको भन्दै सर्वत्र आलोचना बढेपछि राहुल बयानको लागि जान लागेका हुन् ।

यता,भर्खरै महराका एक जना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दरबारमार्ग प्रहरीले तिनलाई पक्राउ गरेको हो । नाम नखुलाइएका आफन्त सल्यानमा साढे ६ करोड रुपैयाँको चेक बाउन्स कसूरमा परेका हुन् । 

उनीविरुध्द मुद्दा चलाउन काठमाडौंबाट सल्यान लैजाने तयारी गरिएको बुझिएको छ ।
 

टिप्पणीहरू