डेङ्गी र आँखा पाक्ने रोगसम्बन्धी सचेतना फैलाउन विद्यालयहरुलाई आग्रह

डेङ्गी र आँखा पाक्ने रोगसम्बन्धी सचेतना फैलाउन विद्यालयहरुलाई आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुमा आँखा पाक्ने रोग र डेङ्गी संक्रमणसम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ । 

मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारीमा रोगसम्बन्धी जानकारी गराउन मातहतका कार्यालय अनुरोध गरेको हो । सातवटै प्रदेशमा रहेको शिक्षा मन्त्रालय, सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै रोगका लक्षण, रोकथामका उपाय र सुरक्षाका लागि चाल्नुपर्ने कदमबारे सचेतना जगाउन केन्द्रले भनेको छ । 

‘विद्यार्थी तथा कर्मचारीहरुको स्वास्थ्यलाई असर पर्ने भएकाले शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुलाई प्रकोपको अवस्थामा सो रोगको लक्षणहरु, रोकथामका उपायहरु र सुरक्षाका लागि चाल्नुपर्ने उपयुक्त कदमहरुबारे सचेतना जगाउनका लागि सही र सान्दर्भिक जानकारीहरु प्रदान गर्नुपर्ने आवश्यकता देखिएको छ’, पत्रमा उल्लेख छ । 

त्यस्तै, केन्द्रले स्वास्थ्य सतर्कता अप्नाएर पठनपाठन गर्न निर्देशन दिएको छ । साथै, डेङ्गी र आँखा पाक्ने रोगसम्बन्धी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्धारा विकसित ‘आईईसी’ सामग्री प्रशारण गर्न सुसूचित गराइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअनुसार हालसम्म ७५ जिल्लामा डेङ्गी फैलिसकेको छ । १५ हजारभन्दा बढीमा डेङ्गीको संक्रमण देखिएको महाशाखाले जनाएको छ । यता, सात वटै प्रदेशमा आँखा पाक्ने रोग तीव्र गतिमा फैलिरहेको छ ।

टिप्पणीहरू