भित्रबाट देखिने ओलीको चित्र

भित्रबाट देखिने ओलीको चित्र

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति हिजोआज बालुवाटारमा बाक्लिएको छ । खासमा कुन सरोकारका निम्ति ओली बालुवाटारतिर बाक्लिनुभएको हो ? सिंहदरबारमा चर्चा छ, भित्रभित्रै प्रचण्डलाई फकाएर आफ्ना मान्छे जोगाउन उहाँ तल्लीन हुनुहुन्छ ।

विभिन्न बहानामा संसदको अवरोध जारी छ । सुन काण्डमा भन्सारबाटै गल्ती भएको कारण अर्थ, गृहमन्त्रीको राजीनामा माग्ने एमाले अध्यक्ष ओलीचाहिँँ विभिन्न प्रकरणमा मुछिएका आफ्ना मान्छे जोगाउन यसरी बालुवाटारतिर दिनैपिच्छे दौडिन थाल्नुभएको हो ।

‘प्रचण्डलाई अप्ठ्यारो पार्ने, काम गर्न नदिने उहाँको नियत हो’, बालुवाटारस्रोत भन्छ, ‘अहिलेचाहिँ फकाई–फकाई प्रचण्डबाट काम लिन खोज्दै हुनुहुन्छ ।’ भेटका क्रममा प्रचण्डले संसदको अवरोध खुला गर्ने विषयमा कुरा गर्नुभएको छ । तीन–तीन वटा संसदीय समितिको नेतृत्व दिइसक्दा पनि एमालेले ती समितिलाई किन पूर्णता नदिएको भन्ने उहाँको प्रश्न छ । तर, ओली कुरा अन्तै मोडेर आफ्ना मान्छेमाथि मुद्दा लाग्ने हो कि भन्ने चिन्ता गरिरहनुभएको छ । अर्कातिर, नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व ओलीले गर्ने कि प्रचण्डले गर्ने कुरा पनि छ । यो स्थितिमा पूर्वप्रधानमन्त्रीहरू नीतिगत निर्णयका आधारमा सिआइबीको छानबिनभित्र पर्ने कुराले ओलीलाई पनि पिरोल्छ कि भन्ने परेको छ । 

खासमा अहिले जे–जस्ता मुद्दा उठाइएका छन्, यस्तो काम गर्नै पथ्र्यो । जनतामा निराशा छ । त्यसले व्यवस्थामाथि खतरा ल्याउने संकेत रवि लामिछानेजस्ता विचार र कार्यक्रमहीन मानिसको उदयले गरेको छ । बालुवाटार स्रोत भन्छ, ‘नक्कली भुटानी प्रकरण, सुन काण्ड, नक्कली डाक्टर काण्डसहितका मुद्दा प्रचण्ड कुर्सीमा हुँदा अगाडि आए । तर, त्यो ठाउँमा अरू हुन्थे भने पनि ती काम हुन्थे ।’ 

उता, ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरिएकोबारे माओवादी नेताहरूमा त्यति असन्तुष्टि देखिँदैन । नियुक्तिलगत्तै उनीबारे उठेका केही प्रश्न उनलाई बालुवाटारमै बोलाएर सोधियो । पैसा राख्ने बैंकको लकरमा गोली राखिएकोबारे उनले आफूलाई फसाइएको भनेका छन् । ‘त्यहाँ मेरो लाखौँ रूपैयाँ थियो, डलर थियो । आमाको गहना थियो’, ल्हारक्यालले बालुवाटारमा सुनाए । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । एक माओवादी नेता भन्छन्, ‘केन्द्रीय सदस्य हुन हुने, नियुक्ति दिन नमिल्ने ?’ हालै सम्पन्न पार्टीको बैठकमा उनी पाँचै दिन बसे । सबैका कुरा सुने, तर आफू बोलेनन् । 

अर्कातिर, रवि लामिछानेहरूलाई सरकारमा ल्याउनै नहुने भन्ने प्रचण्डको सोचाइ छैन । तर, सत्तासाझेदार नेपाली कांग्रेसलाई लक्ष्य गर्दै स्वर्णिम वाग्लेहरूले ‘दाजु भाउजूको पार्टी’ भन्नेले उहाँलाई केही अप्ठ्यारो भएको बताइन्छ । उता, जनमत पार्टीले एउटा महत्वपूर्ण मन्त्रालय माग गरेको छ ।
 

टिप्पणीहरू