डेंगु नियन्त्रणका लागि तीनै तहका सरकार जिम्मेवार नभएको मानव अधिकार आयोगको ठहर

डेंगु नियन्त्रणका लागि तीनै तहका सरकार जिम्मेवार नभएको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानव अधिकार आयोगले डेंगु संक्रमण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै असन्तुष्टि जनाएको छ । 

डेंगु नियन्त्रणमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य नहुँदा नागरिकको जीवन जोखिममा परेको जनाउँदै आयोगले आपसी सहकार्य अघि बढाउन आग्रहसमेत गरेको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले देशव्यापी रुपमा फैलिदैँ गइरहेको डेंगु संक्रमणका कारण नागरिकको स्वास्थ्य र जीवन जोखिममा परेकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो आग्रह गरेको हो । 

‘पछिल्लो एक महिनामा बिरामीहरुको संख्या तीव्र रुपमा बढिरहेको अवस्थामा डेंगु रोगको नियन्त्रण तथा रोकथामका लागि जिम्मेवार निकायहरु संवेदनशील हुन नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको, तीन तहका सरकारबीच प्रभावकारी समन्वयमार्फत डेंगु फैलाउने लामखुट्टेको ‘लार्भा खोज र नष्ट’ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने कार्यमा सरकारको ध्यान जान नसकेकोजस्ता जानकारी प्राप्त भएका छन्,’ विज्ञप्तिमा भनिएको छ । 

आयोगले नागरिकको स्वास्थ्यसम्बन्धी हकको सुनिश्चित तथा संरक्षण गर्नु राज्यको दायित्व रहेको औल्याउँदै डेंगु रोग फैलाउने लामखुट्टेको लाभा खोज्ने र नष्ट गर्ने अभियानमा पर्याप्त जनशक्ति परिचालन गर्न, सरसफाइ, जनचेतनालगायतका कार्यका लागि तीनै तहका सरकारलाई समन्वय र सहकार्यमार्फत अघि बढ्न अनुरोध गरेको छ ।

टिप्पणीहरू