सेनाका कारण झापा र पोखराका स्थानीय आक्रोशित

सेनाका कारण झापा र पोखराका स्थानीय आक्रोशित

नेपाली सेनाले स्थानीयले दशकौंदेखि प्रयोग गर्दै आएको बाटो र सामुदायिक वन कब्जा गरेपछि झापा र पोखराका स्थानीय रुष्ट भएका छन् । झापाको अर्जुनधारा नगरपालिका १ स्थित सुटिङ प्रशिक्षण केन्द्रको स्वामित्वलाई लिएर उनीहरुबीच विवाद बढेको बताइन्छ । 

सोही विषयमा रक्षामन्त्रीसँग कुराकानी गर्न वडाध्यक्ष काठमाडौं आएका छन् । सेनाले उक्त वनसँगै वरपर किसानले खेती गरेको जमिनसमेत आफ्नो भन्दा उनीहरु आक्रोशित भएका हुन् । स्थानीयले भने, ‘हामीले यो जग्गा २०५४ सालमा नै सामुदायिक वनको नाममा दर्ता गरेका हौं । तर,२०५५ पछि सेनाले कब्जा गर्यो ।’

उता पोखराको फूलबारीस्थित एउटा बाटोमा पनि सेनाले कब्जा जमाउन खोजेको आरोप लागेको छ । स्थानीय मणिपाल अस्पतालको मुख्य प्रवेशद्वारबाट अस्पताल मुख्य भवन अगाडितर्फको पक्की बाटो हुँदै उतरतर्फ जाने बाटोको स्वामित्वमा किचलो उत्पन्न भएको हो ।

भलाम गाउँ र पूर्वतर्फको काहुँडाँडा जाने बाटो परापूर्वकालदेखि आफूूहरुले प्रयोग गर्दै आएको स्थानीयको दाबी छ । तर, अहिले नेपाली सेनाले उक्त बाटो आफ्नो स्वामित्वमा रहेको जनाउँदै हाल साबिक गर्न खोजेको आरोप छ ।

सोही जग्गा र बाटोको स्वामित्वबारे आन्तरिक छलफल गर्न सैनिक मुख्यालयबाट पटक पटक सैन्य अधिकारीहरु पोखरा पुगेका छन् । सेनाले हाल साबिकपछि बाटो बन्द गर्ने योजना बनाएको सुईंको पाएर स्थानीय आक्रोशित भएका हुन् ।

तर, सेनाको जग्गा भाडामा लिएको मणिपाल अस्पतालले यसबारे बोल्न चाहेन । विवाद बढ्दै जाँदा गाउँले र सेनाबीचको सम्बन्ध तिक्ततातर्फ अघि बढेको छ । स्थानीयले गुगलमा देखिएबमोजिम नापी कार्यालयले नापी नक्साङ्कन गरेर बाटोको अभिलेख राख्नुपर्ने माग राखेका छन् । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य स्थानीयको भनाई र मागप्रति सकारात्मक देखिन्छन् । तर मालपोत र नापी कार्यालयका हाकिमहरुले यसबारे नबोलेकाले भोलिका दिनमा स्थानीयको मागप्रति अडान लिन नसक्ने आशंका उनीहरुले गरेका छन् ।

बाटो विवादबारे नेपाली सेनाका पश्चिम पृतनापति दीपक बानियाँले अस्पतालले प्रयोग गरेको जग्गा नेपाल सरकारको निर्णयबमोजिम ४९ वर्षको लागि लिजमा दिइएको उल्लेख गरे । उनले अस्पताल निर्माणपछि तयार भएका संरचना सबै सेनाकै स्वामित्वमा रहेको जमिनमा बनाइएकाले विवाद भन्ने कुरै नरहेको जानकारी दिए । बानिया भन्छन्, ‘खोला किनारबाट गाउँतिर जाने बाटो अहिले पनि छ । त्यो बाटो नक्सामा पनि देखिन्छ । अरु कुरो थाहा भएन ।’

टिप्पणीहरू