मेरो राजीनामा माग्नु स्वाभाविक : गृहमन्त्री, सुन काण्डमा त्यत्तिकै नछाड्ने एमाले अध्यक्षको उद्घोष
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियान रोक्न आफ्नो राजीनामा मागिएको बताउनुभएको छ । राजनीतिक पार्टीमा भ्रष्टाचारी हुनसक्ने भएकाले आफ्नो राजीनामा माग्नुलाई अस्वाभाविक नठानेको उहाँको भनाई छ ।
गृहजिल्ला गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले आफ्नै पार्टी र सत्ता गठबन्धनभित्र पनि भ्रष्टाचारी हुनसक्ने भएकाले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको उल्लेख गर्नुभयो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन प्रकरणलाई लिएर सत्तारुढ नेपाली काँग्रेसका केही नेताहरुले राजीनामा मागेकोबारे सोधिएको प्रश्नमा उहाँले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताउनुभयो । तर, भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने र दोषीलाई कारबाही गरेरै छाड्ने उहाँले प्रतिबद्धता पनि दोहोर्याउनु भएको छ ।
विमानस्थलबाट एक सय किलो सुन बाहिरिएको घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको गृहमन्त्री श्रेष्ठले बताउनुभयो । विमानस्थलको व्यवस्थापन नयाँ ढंगले गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
गृहमन्त्रीकै सेटिङमा त्यति ठूलो परिमाणमा सुन तस्करी भएको आरोप लगाउँदै प्रतिपक्ष एमालेले उहाँको राजीनामा मागिरहेको छ । सत्तारुढ काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि सोही घटनालाई लिएर केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेका थिए ।
यता नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन काण्डबारे उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । हिजो राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उहाँले गृहमन्त्रीलाई ‘गैरजिम्मेवार सोमत नभएको’ उल्लेख गर्नुभएको हो ।
गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने अध्यक्ष ओलीको माग छ । गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी पनि दिनुभएको छ ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्याइकन एमालेले छाड्दैन । सुन बोक्ने भन्दापनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर बस्दैन ।’
टिप्पणीहरू