‘वैदेशिक रोजगारीमा हिँडेकालाई एयरपोर्टबाट फर्काउनु गम्भीर मानव अधिकार हनन्’
राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई बिना कारण विमानस्थलबाट फर्काइनु गम्भीर मानव अधिकार उल्लंघन हुने बताएको छ ।
वैदेशिक रोजगारीका लागि कुते र जोर्डन हिँडेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोकेको घटनाप्रति ध्यानाकर्षण गर्दै आयोगले यस्तो भनेको हो । संस्थागत श्रम स्वीकृति लिएर कुवेत र जोर्डनमा श्रम गर्न हिँडेका १५६ जनालाई अध्यागमन कार्यालयले रोकेको उल्लेख गर्दै त्यसले उनीहरुको अधिकार हनन् भएको आयोगको ठहर छ ।
आयोगले आज जारी गरेको विज्ञप्तिमा यसरी श्रमिकलाई फकाईनुको स्पष्ट कारण प्रकाशमा नल्याइएको एवम् श्रम प्रशासन र अध्यागमन प्रशासनबीच समन्वय, सहकार्य, सूचना आदानप्रदान र विश्वसनीयता अभावका कारण उनीहरुको आवतजावत र रोजगारीको हक उल्लंघन हुन गएको जनाइएको छ ।
साथै, उक्त विषयलाई लिएर जिम्मेवार निकायहरुबीच सार्वजनिक रुपमै आरोप–प्रत्यारोप भएको अवस्थाले ती निकायहरु श्रमिकको अधिकारप्रति संवेदनशील नरहेको प्रष्ट भइसकेको विज्ञप्तिमा उल्लेख छ । आप्रवासी कामदारको अधिकार उपभोग र प्रचलनमा अवरोध नपुर्याउनसमेत आयोगले सम्बन्धित पक्षलाई सजग गराएको छ ।
टिप्पणीहरू