मेनपावर व्यवसायीद्वारा अध्यागमन विभाग घेराउ

मेनपावर व्यवसायीद्वारा अध्यागमन विभाग घेराउ

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको घटनाको विरोधमा मेनपावर व्यवसायीहरुले अध्यागमन विभाग घेराउ गरेका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले आज कालिकास्थानस्थित विभाग अगाडि प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले विभागका महानिर्देशकको राजीनामा माग्दै चर्को नाराबाजी गरे । 

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फर्काइदिएको थियो । कागजात शंकास्पद रहेको भन्दै अध्यागमनले श्रमिकलाई विमानस्थलबाटै फिर्ता गरेको उक्त घटनाको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । 

त्यसक्रममा व्यवसायीहरुले 'अध्यागमनको ज्यादती बन्द गर', अध्यागमनमा हुने अनियमितता छानविन गर', 'व्यवसायीलाई दु:ख दिने कार्य बन्द गर', 'विदेशमा काम गर्न पाउने संवैधानिक हक सुरक्षित गर', अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर', अध्यागमन विभागका महानिर्देशक राजीनामा दे', 'भिजिट भिसा सेटिङ बन्द गर' लेखिएका प्लेकार्ड देखाएका थिए ।
 

टिप्पणीहरू