मान्यहरु बजेट अड्काएर मुस्ताङतिर

मान्यहरु बजेट अड्काएर मुस्ताङतिर

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास हुन सकस पर्ने देखिएको छ । बजेटमाथिको छलफलमा केन्द्रित हुनुपर्नेमा प्रदेश सभा सदस्यहरू कहिले काठमाडौँ त कहिले कता घुम्न गएर समय कटाउन थालेका छन् । 

सत्ता पक्षकै प्रदेश सभा सदस्यहरू पक्षमा नदेखिएपछि सरकारले बजेटमाथिको छलफलका लागि बैठक बोलाउने आँट गर्न सकेको छैन । 

यो बीचमा कांग्रेसका प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्काको नेतृत्वमा ६ जनाले सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधन नगरी पास गर्न नसकिने बताएका छन् । बरु कारबाही भोग्छौँ, यही अवस्थामा पास गर्दैनौँ भनेका छन् । 

देउवाले मुख्यमन्त्री र अर्थमन्त्रीलाई भनेर बजेट संशोधन गर्ने आश्वासन दिएका छन् भने केही प्रदेश सभा सदस्य मुस्ताङ भ्रमणमा छन् । मुस्ताङ गएकाहरू पनि शीर्ष नेताहरूलाई दबाब दिएर बजेट परिवर्तन गराउनका लागि काठमाडौं जाने बताइएको छ । 

सत्ताघटक माओवादी दलका नेता खगराज भट्ट पनि प्रधानमन्त्री भेट्न काठमाडौँ जाने चर्चा छ । अर्का प्रदेशसभा सदस्य ओमविक्रम भाट सरलले बजेटका विसंगतिबारे प्रधानमन्त्रीलाई भनिसकेको बताइन्छ ।

बजेटलाई लिएर मुख्यमन्त्री कमलबहादुर शाहको दल कांग्रेस मात्रै होइन, एकीकृत समाजवादीका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीको पार्टीमा ठूलो असन्तुष्टि छ । माओवादीका दुई मन्त्री ढिलो नियुक्त भएकाले आफूहरूलाई बजेटबारे केही जानकारी नरहेको भन्दै कार्यकर्ताबाट पन्छिरहेका छन् । 

प्रदेश सभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी पनि असन्तुष्ट छ । सरकारलाई समर्थन गरेर विपक्षी बेञ्चमा बसेका स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीसमेत सन्तुष्ट छैनन् । 

यसैबीच, आर्थिक मामिलामन्त्री शाही निर्वाचित भएको बाजुरा, प्रदेश सभा (क) क्षेत्रको जगन्नाथ गाउँपालिकाले आफ्नो सिफारिसबिना आएका योजना कार्यान्वयन हुन नदिने निर्णय गरेको छ । प्रदेश सभा सदस्य, स्थानीय तह, जिल्ला समन्वय समितिमा योजनाका प्राथमिकताबारे छलफल गराएको प्रदेश सरकारले सो अनुरूप बजेट नल्याएको भन्दै जनप्रतिनिधिहरू असन्तुष्ट छन् । 

आर्थिक मामिलामन्त्री शाहीसँग निकटहरूका अनुसार बाजुरा नै घर भएका सचिव डा. नारायण रेग्मीको विश्वासमा पर्दा बजेटबारे ठूलो असन्तुष्टी आएको हो । बजेटकै कारण मन्त्री र सचिववीच पहिलेजस्तो सम्वन्ध नभएको बताइन्छ । बजेट भाषणपछिको पत्रकार सम्मेलनमा पनि सचिव डा. रेग्मी उपस्थित भएनन् । 
 

टिप्पणीहरू