तीन कर्णेलमाथि थप कारबाहीकाे तयारी

तीन कर्णेलमाथि थप कारबाहीकाे तयारी

सेनाभित्रको अनियमिततामा मुछिएका पूर्वउपरथी प्रेम शाहीलाई सघाएको आरोपमा तीन जना कर्णेलमाथि थालिएको कारबाही प्रकरण सैनिक अदालतमा प्रवेश गरेको छ । यो मुद्दामा बिहीवारका लागि सुनुवाइको पेशीसमेत तोकिएको छ । भने १६ जिल्लामा सचेतना कार्यक्रम चलाउन धपाइएका यसै प्रकरणका आरोपी प्राड विवाक (लिगल) सम्बद्ध प्रमुख सेनानी कुलदिप तिमल्सिनालाई एनए ०६२ कासा जहाजमा आइतबार सुर्खेतबाट बिहान १०ः४० बजे काठमाडौं ल्याइएको छ । 

कर्णेलविरुद्धको तोकिएको शुरु सजायँ कम्ति भयो भन्दै जंगी अड्डा नै पुनरावेदन निवेदन लिएर सैनिक अदालत पुगेको थियो । सैनिक ऐन, ०६३ विपरित अनुशासन उल्लंघन गरेको आरोपमा महासेनानी डा.महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई कोर्टमार्शलले विभागीय कारबाही गरेको थियो भनेसाम्ब अर्याललाई ‘सचेत’ गराउने सम्मको सिफारिश थियो । ‘विभागीय कारवाही’ र ‘सचेत’ ले मात्रै नपुग्ने दाबी जंगी अड्डाको छ । 

डा.शाह र तिम्सिनाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न हाल सरकारमा रहेका कांग्रेसका एक जना चर्चित नेता, पूर्वप्रधानन्यायाधीश र सर्वोच्चकै बहालवाला न्यायाधीशसँग सूचना आदान–प्रदान गरेको आरोप छ । सेनाले कारवाही शुरु गरेपछि त्यसविरुद्ध ९ पुस २०७७ मा तत्कालीन उपरथी प्रेम शाही रिट लिएर सर्वोच्च गए । रिटको सुनुवाइका क्रममा न्यायाधीश अनिल सिन्हा र कुमार रेग्मी संलग्न इजलासमा पेश भएको समरी जनरल सैनिक अदालतको निर्णयबाट न्यायाधीशसँगको‘कनेक्सन’ बाहिरिएको हो । 

आन्तरिक मुद्दाको विषयमा नेता, बहालवाला र पूर्व न्यायाधीशसँग त्रिकोणात्मक ‘कनेक्सन’ रहेको तथ्य छानबिनबाट बाहिरिएपछि अदालत र सेनाभित्रै तरंग उत्पन्न भएको थियो । डा.शाह र तिम्सिनालाई कोर्ट मार्शलबाट दुई–दुई वर्ष प्रमोसन रोक्ने गरी भएको विभागीय कारवाही तथा हाल युएन मिशनमा रहेका कर्णेल साम्ब अर्याललाई कोर्ट अर्फ इन्क्वायरीले ‘सैनिक विद्रोह’को कसुरमा गराएको सचेतको कारवाही चित्त नबुझेको बताउँदै जंगी अड्डाले सैनिक विशेष अदालतमा अर्को मुद्दा दर्ता गरेको हो । 

उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठित जनरल समरी अदालतले २०७९ फागुन १८ गते पहिले नै म्याद सिद्धिसकेका तत्कालिन उपरथी प्रेम शाहीलाई बर्खास्तीको निर्णय गरेको थियो ।उनलाई डा.शाही, तिम्सिना र अर्यालले सघाएको आरोप छ । सोही आरोपमा शाह र तिमल्सिनालाई सेनाको हिरासतमा राखेर बयान लिइएको थियो । जंगी अड्डाको पुनरावेदन सुन्न पुनरावेदन अदालतका न्यायाधीशको अध्यक्षतामा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सेनाको प्राड विभागका प्रमुख रत्नप्रकाश थापा सदस्य रहने सैनिक अदालत गठन भइसकेको छ । सुनुवाइका लागि बिहीवारको पेशीसमेत तोकिएको छ । 
 

टिप्पणीहरू