मेरो नवीन सोचका कारण रुपान्तरण सम्भव : प्रधानमन्त्री

मेरो नवीन सोचका कारण रुपान्तरण सम्भव : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक रुपान्तरणका निम्ति नवीन विचार र सृजनात्मक सोच अपरिहार्य हुने बताउनुभएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले उक्त धारणा राख्नुभएको हो । विचारमा नवीनता र शैलीमा सृजनात्मकता भन्दै उहाँले आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढंगले विकास गर्न सके त्यसले समाज परिवर्तनमा भूमिका खेल्ने उहाँको विश्वास छ । 

‘मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाको निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । 

विचार, सोच र शैलीलाई सृजनात्मक ढंगले विकास गर्ने व्यक्तित्वको आफूले सँधै उच्च मूल्यांकन गर्ने गरेको प्रधानमन्त्रीले त्यहाँ सुनाउनुभयो । त्यसक्रममा उहाँले मानव विकास पनि नवीन सोच खोजीकै क्रममा भएको उल्लेख गर्नुभयो । 

‘मानव समाजको विकास पनि नवीन सोचको खोजीको क्रममा भएको हो । मानव र अरु प्राणी बीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले २१ औं शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरुलाई अझ नवीन र तीब्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनुपर्दछ । मलाई विश्वास छ, तपाईंहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहित गर्न आ–आफ्नो ठाउँबाट चिन्तन मनन् गरिराख्नुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमिक्षा गर्ने विधि नै सुशासन हो भन्नुभयो । ‘आफैंभित्र सबैभन्दा पहिला सुशासनको शुरुवात गर्नुपर्दछ, उहाँको जोड छ । 

प्रधानमन्त्रीले स्थायी सरकारको रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभावित पार्ने भएकाले सृजनात्मक भएर काम गर्न आग्रहसमेत गर्नुभएको छ ।

टिप्पणीहरू