प्रोस्टेटको शल्यक्रियापछि अध्यक्षको स्वास्थ्य अवस्था सामान्य स् नर्भिक अस्पताल

प्रोस्टेटको शल्यक्रियापछि अध्यक्षको स्वास्थ्य अवस्था सामान्य स् नर्भिक अस्पताल

राजधानीको थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक वसन्तकुमार चौधरीको प्रोस्टेटको सफल शल्यक्रिया भएको छ । अस्पतालका यूरोसर्जन डा। भरत भण्डारी नेतृत्वको यूरोलोजी टोलीले आज बिहान उनको प्रोस्टेटको सफल शल्यक्रिया गरेको बताइएको छ । 

टोलीलाई डा। सुरेश लामिछाने नेतृत्वको एनेस्थेसिया र नर्सिङ स्टाफ टिमले सहयोग गरेको थियो । ६४ वर्षीय चौधरीको दुई वर्षअघि पनि प्रोस्टेटको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । उक्त समस्या पुनः बल्झिएपछि आज बिहान शल्यक्रिया गरिएको हो । चौधरी अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

किन गरिन्छ प्रोस्टेट शल्यक्रिया ?

प्रोस्टेट ट्रान्सयुरेथ्रल रिसेक्शन एक सर्जिकल प्रक्रिया हो, जसमा प्रोस्टेटको एउटा भाग काटिन्छ । प्रोस्टेट ग्रन्थी पुरुषको पिसाब थैलीमुनि हुन्छ । प्रोस्टेट ग्रन्थी बढेपछि पिसाबको बाटो अवरोध हुन्छ । यसको प्रभावकारी उपचार शल्यक्रिया नै भएको चिकित्सकहरु बताउँछन् । 

एक पटक प्रोस्टेटको उपचार गरिसकेपछि पनि कतिपयको नली खुम्चिने, पूरा नकाटिने वा पुनः बढ्ने अवस्था बन्ने गरेको छ । सोही कारण एक पटक प्रोस्टेटको शल्यक्रिया गरिसकेकालाई पुनः पनि उही समस्याले सताउँछ । ४५ वर्ष नाघेका पुरुषहरुले प्रोस्टेट ग्रन्थीको समय–समयमा परीक्षण गराइरहनुपर्ने चिकित्सकहरुको भनाइ छ ।

टिप्पणीहरू