नक्कली भुटानी प्रकरणमा सबै भिआइपी र बिचौलिया जेल जाने

अरु प्रमाण प्राप्त, केपी ओलीको नाम बेच्दै मागियो २ करोड

नक्कली भुटानी प्रकरणमा सबै भिआइपी र बिचौलिया जेल जाने

‘जतिचोटि प्रधानमन्त्री झापा जान्छ, त्यहाँको मान्छेले सोध्छ । प्रधानमन्त्री झापाकै हो अनि सबै इन्फरमेसन टिमसम्म आइरहेको छ । बाहिरका मान्छेको एउटै नाम नहालेपछि प्रधानमन्त्रीको कान फुकिदिन्छ । त्यसैले ब्याक डेटमा भए पनि त्यो लिस्ट लिनु छ । उहाँले फोन गर्नुहुन्छ, डाक्टर सा’ब । हामीप्रति नेगेटिभ नहुन भनिदिनुपर्‍यो । राजेशले फोन गरेर उहाँलाई पोजिटिभ बनाउनुपर्‍यो ।’

नक्कली शरणार्थी प्रकरणको मुख्य हर्ताकर्ता भनिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र मुख्य बिचौलिया सानु भण्डारीबीचको संवाद हो यो । अदालतमा मुद्दाको सुनुवाइ अन्तिमतिर पुगिरहेका बेला जनआस्थालाई प्राप्त राई र भण्डारीबीचको संवादको अडियो रेकर्डमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँका पिए राजेश बज्राचार्यको नाम पटक–पटक लिइएको छ । अदालतमा इन्कारी बयान दिएका यी दुई भाइले राजेशमार्फत कुरा मिलाएर काम तमाम पार्ने योजना बुनेको अडियो रेकर्डबाट प्रष्ट बुझिन्छ । कसैको दबाब र प्रभावबिना मन खोलेर २ जनाबीच संवाद हुनु आफैँमा ठूलो प्रमाण हो । जसलाई अनसाइट र एभिडेन्स पनि भनिन्छ । पछि फेरिएका बयान र दाबी आफूलाई अप्ठ्यारोबाट उम्काउने बहानाबाजी मात्रै हुन् । सहमतिमा स्वीकार, अप्ठ्यारोमा बलात्कार भनेजस्तो ।

संवादका क्रममा इन्द्रजित भन्छन्, ‘राजेशलाई तपाईंंले सीधै किन भेट्नुभएको भनी हकारिसक्छ । तल क्याम्पबाट यो कुरामा हल्ला मच्चाइरहेको छ । तपाईंले यसरी भेट्दा नाम ओपन हुन्छ भनेर मलाई डर लाग्यो,’ इन्द्रजित डराएपछि सानु जवाफ दिन्छन्, ‘तपाईंंको कतै नाम आएछ भने म जिम्मेवार हुन्छु भनिदिनु !’, ‘इन्द्रजितले अझै आशंका गरेपछि आश्वस्त पार्दै सानु भन्छन्, ‘उहाँ राम्रो मान्छे हो, टोपबहादुरजीले भेटाएको भनेर भनिदिनु न !’

जनआस्थाले भेटाएको अर्को अडियो रेकर्डमा पनि इन्द्रजित र सानुबीच यस प्रकरणलाई लिएर तनावपूर्ण संवाद भएको देखिन्छ । ‘समस्या पर्‍यो, अलिकति ! प्रधानमन्त्रीकोमा गएर मन्त्रीलाई फोन गरेर मिलाइदिनुपर्‍यो, तपाईंंहरू बीचमा फ्याट्ट हराइदिनुहुन्छ अनि मलाई कति गाह्रो पर्छ’, घटना बाहिरिने डरमा देखिएका इन्द्रजित कड्किएपछि सानु भन्छन्, ‘म हराउँदिन डाक्टर सा’ब ! पर्सि तपाईंलाई दुई करोड ल्याएर बुझाइदिन्छु !’ पैसाको कुरा फोनमा गर्न नचाहेका इन्द्रजितले ‘त्यस्तो कुरा यसमा नगर’ भनेपछि सानु ‘ल ल !’ भन्छन् । त्यसपछि इन्द्रजित सोध्छन्, ‘कहिले जाने हो ?’, ‘म त बिहानै आइसकेँ नि डाक्टर साब, निद्रा लागेन’, सानुको जवाफपछि इन्द्रजित पनि निद्रा बडो मुश्किलले’ लागेको बताउँछन् !

राजनीतिक पहुँच र आर्थिक प्रलोभनले अदालतदेखि अख्तियारसम्म बेलाबखत तरंगित हुने गरेको पृष्ठभूमिमा उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वसमेत जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँले गर्ने सम्भावित आदेशलाई लिएर यतिबेला सर्वत्र चासो छ । अदालतमा जारी थुनछेक बहस अन्त्यतिर पुग्दै गर्दा चासोको केन्द्रमा छन्, न्यायाधीश प्रेमप्रसाद न्यौपाने । 

आफ्नै नागरिकलाई अनागरिक बनाएर अर्को देशमा बेच्न देशको गृह प्रशासन नै प्रत्यक्ष संलग्न रहेको यो मुद्दा हेरिरहेका न्यौपाने न्याय क्षेत्रमा निडर र इमान्दार श्रीमान्का रूपमा परिचित भएकाले पनि ध्यान उनीतिर तेर्सिएको हो । पेशीका लागि गोला तान्ने दिन अरु ११ जना न्यायाधीश बिदामा बस्दा यो मुद्दा हातमा लिएका न्यौपानेको निडरता बहसका क्रममा पनि देखिएको छ । प्रतिवादीको प्रतिरक्षा बहसमा उत्रिएका वकिललाई इजलासमै हायलकायल बनाएका न्यौपानेको बेलाबेला नोंकझाेंकसमेत देखियो । 

झापा घर भएका न्यौपाने भुटानी शरणार्थीसम्बन्धी लफडा राम्रोसँग बुझेका व्यक्ति पनि हुन् । आफ्नै जिल्लामा रहेका शरणार्थीको नाम दुरूपयोग भएको आँखैअगाडि देखेकाले पनि यस मुद्दामा उनी व्यक्तिगत रूपमा पनि संवेदनशील छन्, भनिन्छ । उनलाई नजिकबाट जान्नेहरू निडरसँगै इमान्दार न्यायाधीश पनि भन्छन् । उनको ट्रयाक रेकर्ड पनि असाध्यै राम्रो छ । 

इजलासमा जारी बहस, प्राप्त प्रमाण र न्यायाधीश न्यौपानेको ट्रयाक रेकर्ड विश्लेषण गर्दा भन्न सकिन्छ, एकजना अभियुक्त लक्ष्मी महर्जनबाहेक अरु सबै पुर्पक्षका लागि जेल जाँदै छन् । शरणार्थी प्रकरणमा प्रत्यक्ष संलग्नता ठहर नभएकाले लक्ष्मीको हकमा भने धरौटीमा रिहा हुने सम्भावना छ । चितवनमा दलालहरूलाई भेला गरेर हज कमिटीका अध्यक्ष समशेर मियाँको सरकारी गाडीमा बोराभरि काठमाडौँसम्म पैसा ओसार्न खटिएका श्रीमान् हरिभक्त महर्जनले बैंक खाता प्रयोग गरेका कारण उनलाई प्रतिवादी बनाइएको हो । 

अर्कोतिर सचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित र दलालहरूबीच भएको संवादको अडियो रेकर्ड अकाट्य प्रमाणका रूपमा अदालतमा दर्ज भएका छन् । आरोपितहरूले अदालतमा इन्कारी बयान दिएर पनि त्यसले उनीहरूलाई उम्किने बाटो दिंदैन । ‘अदालतको बयान एउटा प्रक्रिया हो, सफाइको मौका दिन यो प्रक्रिया अनिवार्य नै हुन्छ’, यस मुद्दालाई नजिकबाट नियालिरहेका फौजदारी कानुनका एकजना विज्ञ भन्छन्, ‘अदालतले बयानभन्दा तथ्य र प्रमाणलाई हेरेर निर्णय गर्छ ।’

डा.इन्द्रजितले २ करोडका निम्ति दलालसङ्ग ताकेता गरेको (३ः२९ मीनेटको) र अर्को ‘बडा मुश्किल हुन लाग्यो,नहराऊ, छिटो काम सक’ भनेको ५१ सेकेण्डको उल्लिखित अडियो सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको छ । त्यतिबेलाका प्रधानमन्त्री ओली र उनका पीएको पटक–पटक नाम बेचेको र टोपबहादुरको प्रसङगसमेत निकालेको गरी ४ मीनेट २० सेकेण्ड लामो कुराकानीको अर्को अडियो पनि प्रमाणका रूपमा सुरक्षित नै छ । कर्मचारी र दलालबीच लेनदेनका सम्बन्धमा भएको ३२ मीनेटको अर्को अडियोसमेत फेला परेको छ । 

नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका पठाउने भन्दै करोडौँ ठगी गरेको यो प्रकरणमा संलग्न पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित, बहालवाला सचिव टेकनारायणसहित ३२ जनालाई राज्यविरुद्धको अपराधसहित विभिन्न चारवटा कसूरमा मुद्दा चलाइएकोमा १६ जना भने फरार छन् । बलियो तथ्य र प्रमाण जुटिसकेको यस मुद्दामा अब न्यायाधीश न्यौपाने प्रभावमा परेनन् र आफ्नो इमान्दार छवि कायम राखे भने हिरासतमा रहेका १६ मध्ये १५ जना पुर्पक्षका लागि जेल जाने निश्चित देखिन्छ ।
 

टिप्पणीहरू