मणिपुरमा अल्झेको नेपाली मन

मणिपुरमा अल्झेको नेपाली मन

नेपाली गाउँ र मणिपुरे गाउँ उस्तै–उस्तै छन् । मणिपुर र नेपाल दुबै ठाउँमा नेपालीभाषा, कला, साहित्य र संस्कृति भेटिन्छन् । सीमाना र भूगोलबाट नेपालभन्दा मणिपुर अलिक टाढा छ । तर त्यहाँ पुग्दा थाहा हुन्छ, पुर्खाको माया, माटोको सम्झना, वास्तविक भाषा, साहित्य र संस्कृतिलाई उनीहरूले कसरी जगेर्ना गरेर राखेका छन् ! 

नेपालीहरू जहाँ पुगे पनि परिश्रम गर्न छाड्दैनन् । सद्भाव र इमान्दारी अर्काे परिचय हो । भारतको मणिपुरमा बसोबास गर्ने नेपाली नेपालजस्तै पहाड, जंगल र कृषि गर्न मिल्ने गाउँ रोजेर बसे । नेपालीभाषी साहित्यकार भवानी अधिकारी भन्छन्– ‘मणिपुर जन्मभूमि भए पनि हाम्रो रगतको साइनो नेपालसँगै छ । त्यसकारण नेपालीभाषा, धर्म, संस्कृति भुल्न सक्दैनौं ।’ मनका आवेग, आँखीझ्यालभित्र मणिपुर, मेरो लोकताकलगायत चर्चित पुस्तकका लेखक उनी पेशाले शिक्षक हुन् । मणिपुरमा नेपालीभाषीको जनसंख्या करिब ५३ हजार हाराहारीमा रहेको अनुमान छ । 

मणिपुरमा गोर्खाली सैनिक सन् १८१९ तिर आएको अनुमान छ । बर्माले ऊबेला आक्रमण थालेपछि मणिपुरको रक्षाका लागि गोर्खालीको प्रवेश भएको हो । राजा गम्भीर सिंहको शासंनकालमा गोर्खालीहरूको प्रवेश मणिपुरमा भएको अर्का नेपालीभाषी साहित्यकार मुक्ति गौतम बताउँछन् । सन् १८२४ मा १६औं सिल्थ स्थानीय बटालियनका गोर्खा, जो पछि आठौं गोर्खा राइफल्स बन्न पुगे, लाई गम्भीर सिंहको प्रहरी समूहमा समावेश गरिएको थियो । त्यो बेला राजा गम्भीरको मिलिसियालाई भिक्टोरिया पल्टनको नाम दिइएको थियो । विश्वास जितिरहेका गोर्खाली सैनिकको राम्रो अनुशासन देखेपछि भान्सामा काम गर्नेदेखि किसानसम्म ल्याउने अभियान शुरु भयो । 

जब इष्ट इण्डिया कम्पनीले गोर्खा राइफल्सको केही बटालियनलाई मणिपुर सार्यो, जताततै गोर्खाहरू देखिन थाले । विस्तारै मणिपुर गोर्खामय भयो । गोलाघाट र सिलचरबाट २ सय गोर्खाली सैनिक यहाँ ल्याइएका थिए । सन् १८९१ मा आसामका केही गाउँबाट पनि मानिस मणिपुर सरे । तत्कालीन महाराजा चन्द्रकृतिको शासनकालमा धेरै संख्यामा गोर्खाली मणिपुर भित्रिएको चर्चा छ । २० औं शताब्दीको सुरूतिर गोर्खालीलाई आसाम सैन्य प्रहरीमा समेत भर्ती गरिएको थियो । मणिपुरमा १६ औं शताब्दीतिर एक नेपाली परिवार आएर बसोबास गर्न थालेको समेत बुझिन्छ । 

प्रथम भारतीय गोर्खा शहीद

गोर्खा सैनिकमा कार्यरत धेरैले आफ्नो जिम्मेवारी पालनाको क्रममा ज्यान गुमाएका छन् । बहादुर स्वभाव र इमान्दारीका प्रतीकको रूपमा चिनिएका गोर्खाली (नेपाली) हरू संसारभरि कसैसँग झुकेनन् । अनेक अभियोग लगाएर भारतीय गोर्खा सैनिकमा कार्यरत मणिपुर सैनिकका तत्कालीन सुवेदार निरञ्जन सिंह क्षेत्रीलाई जुन ८ सन् १८९१ मा फाँसी दिइएको थियो । 

मणिपुरमा नेपाली साहित्यको शुरुवात सन् १८९३ तिर भएको सिलोङका भारतेली नेपाली साहित्यकार विक्रमबीर थापा बताउँछन् । भारतेली नेपाली साहित्यको इतिहास लेख्दा तुलचन्द आलेलाई नसम्झे अधुरो हुन पुग्छ । ‘साहित्यको प्रथम चरण वा प्रथम काल मणिपुर लडाइँको सवाईबाट थालिन्छ । जुन सवाईका जनक हुन्, नायक तुलचन्द आले’, साहित्यकार थापा भन्छन् ।
 

मणिपुरमा ऊबेला ८ गोर्खा पल्टनको दोस्रो बटालियन सन् १८९० मा स्थापना गरिएको थियो । यो पल्टनलाई ४३ गोर्खा पल्टन भनिन्थ्यो । सोही पल्टनका नायक तुलचन्द आले हुन् । सन् १८९१ मा लडाइँ भयो । नायक तुलचन्द आले मणिपुरको लडाइँमा सहभागी भएकाले त्यस बेला भएका घटनालाई लिएर मणिपुर छावनी (किल्ला) मा आफ्नो पल्टनसँग बसेर मणिपुरको लडाइँसम्बन्धी सवाई लेखे । तर मणिपुरमा त्यस बेला छापाखाना नभएका कारण आफ्ना कृति प्रकाशन गर्न पाएनन् । सन् १८९९ को अन्तिम चरणमा ४३ गोर्खा पल्टन मणिपुरबाट फर्केपछि उनले मणिपुरको लडाइँको सवाई सिलोङमा प्रकाशन गरेको मुक्तिले बताए । भन्छन्, ‘जुन सवाई भारतेली नेपाली साहित्यको घडेरी हो । यही घडेरीबाट आज भारतेली नेपाली साहित्यको महल खडा भएको छ ।’

टिप्पणीहरू