एसिया कप हाइब्रिड मोडलमा हुने, नेपालले दुबैतिर खेल्नुपर्ने

एसिया कप हाइब्रिड मोडलमा हुने, नेपालले दुबैतिर खेल्नुपर्ने

भारत र पाकिस्तानको आपसी बिबादका कारण अन्योल बनेको एसिया कप क्रिकेट प्रतियोगिताको आयोजनास्थल निश्चित भएको छ । एसिएन क्रिकेट काउन्सिल (एसीसी)ले पाकिस्तान र श्रीलंकामा प्रतियोगिता गर्ने टुंगो लगाएको हो । 

यसअघि पाकिस्तानमा हुने भनिएको प्रतियोगितामा भारतीय क्रिकेट बोर्डले आफ्ना खेलाडी नपठाउने अडान लिएपछि प्रतियोगिता नै नहुने हो कि भन्ने संशय थियो । पाकिस्तान क्रिकेट बोर्डले 'हाइब्रिड मोडल' भनि 'न्युट्रल भेनु' मा प्रतियोगिता आयोजना गर्न सकिने नरम प्रस्ताव गरेको थियो।  तर, त्यसमा भारत सहमत नहुँदा एसीसीले निर्णय लिन सकेको थिएन । 

भारत र पाकिस्तानसहित बंगलादेश, श्रीलंका र अफगानिस्तान क्रिकेट बोर्डसँग पटक-पटक छलफल गरेपछि अन्तत: हाइब्रिड मोडलमै प्रतियोगिता गराउने निर्णय एसीसीले गरेको हो । जसअनुसार अब पाकिस्तान र श्रीलंकामा प्रतियोगिता हुनेछ । 

क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकइन्फोका अनुसार पाकिस्तान क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई एसीसीले स्वीकृत गर्ने भएको छ । जसमा प्रतियोगिताका १३ मध्ये करिब पाँचवटा खेलहरू पाकिस्तानमा र बाँकी श्रीलंका आयोजना हुनेछन् । भारतले खेल्ने सबै खेल श्रीलंकामा हुनेछ ।

सेप्टेम्बर १ देखि १७ सम्म हुने प्रतियोगिताबारे एसीसीले केहीदिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।यसपटक नेपालसमेत एसिया कप खेल्दैछ । भारत र पाकिस्तान रहेको समूहमा परेको नेपालले दुवै आयोजनास्थलमा खेल्नुपर्ने भएको छ ।
 

टिप्पणीहरू