जिल्ला प्रशासनमै सेवाग्राहीहरुको बिचल्ली

जिल्ला प्रशासनमै सेवाग्राहीहरुको बिचल्ली

-नमस्कार शाह

जिल्ला प्रशासन कार्यालय बाँकेको सेवाग्राही कक्षमै सेवाग्राहीहरुलाई सास्ती हुन थालेको छ । दिनहुँ दुई सयबढी सेवाग्राहीहरु नागरिकता र नागरिकताको प्रतिलिपी बनाउन उक्त कार्यकक्षमा पुग्ने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको पालामा वातानुकुलित सेवाग्राही कक्षको उद्घाटन गरिएको थियो । त्यतिबेला सेवाग्राहीहरुलाई बस्ने उचित व्यवस्थासँगै व्यवस्थित टोकन प्रणाली जडान गरिएको थियो । 

नागरिकका लागि बनाइएका सरकारी भवनमा सबै तहका कर्मचारीलाई केही समयको निम्ति बस्ने व्यवस्था हुन्छ तर बाँकेको जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको निम्ति बस्ने ठाउँ देखिँदैन । अहिलेको अवस्थाले सरकारी संरचनाहरु कर्मचारीहरुको लागि मात्रै हो कि भन्ने सन्देश गएको छ ।

सोही कुराको महशुस गर्दै नेपालगञ्जस्थित सबै वडाको सहयोगमा जिल्ला प्रशासन कार्यालय बाँकेमा ३६ लाख लागतमा टोकन प्रणाली, वातानुकुलित कोठा, पिउने पानीसहितको एक सय जना क्षमताको अत्याधुनिक सेवाग्राही कक्ष सञ्चालनमा ल्याइएको थियो । 

२०७७ मंसिर २४ गते भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र नेपालगञ्ज उपमहानगरपालिकाका  प्रमुख धवल सम्शेर राणाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । निकै प्रशंसा कमाएको उक्त सहायता कक्षमा पंखा समेत देखिँदैन । बस्ने कुर्सी छैनन् भने खानेपानीको व्यवस्था समेत हटाइएको छ ।

असाध्यै चर्काे गर्मीमा बाफिएर सेवा लिएको नेपालगञ्ज उपमहानगरपालिका ६ की जेष्ठ नागरिक ९० वर्षीया गेहेन्द्र नाउ बताउँछिन् । नाम नबोलाएपछि झ्यालमा गएर काम भए वा नभएकोबारे सोध्न खोज्दा एक घण्टासम्म उक्त फाँटका कर्मचारीनै कार्यकक्षमा नदेखिएकोमा उनको गुनासो छ ।

नेपालगञ्ज १२ का सेवाग्राही दलबहादुर गुरुङ्ग कार्य सुस्ततासँगै सेवाग्राहीहरुलाई बस्ने उचित स्थान नहुँदा गर्मीले आलसतालस बनाएको बताउँछन् । 

नेपागञ्जको टन्टलापुर घाम र चर्को गर्मीलाई छिचोल्दै सेवा लिन भित्र पसेका सेवाग्राहीहरु पाँच मिनेटमै नुहाएझैँ निथु्रक्क हुने गरेको गुरुङ्ग बताउँछन् । उनी भन्छन् ‘कार्यालयका प्रत्येक कोठामा एसी चलिरहेका छन् तर हामी सेवाग्राहीहरुलाई भने भित्तामा झुण्ड्याइएका एसी हात्तीका देखाउने दाँत सरह भएका छन् । न बस्नलाई उचित संख्या र अवस्थाका कुर्सी छन्, भएका पनि प्रयोगमा ल्याउन डरलाग्दो अवस्थाका छन् । उता जेष्ठ नागरिक र अशक्तहरुलाई पालो कुर्न नपर्ने भनिए पनि ९० वर्ष माथिका ज्येष्ठ नागरिक भुईंमा पलेटी कस्न बाध्य देखिन्छन् ।’ 

नागरिकता प्रतिलिपी निकाल्नकै लागि खजुरा २ बाट दुई दिनदेखि जिल्ला प्रशासन धाइरहेका हरिबहादुर खड्का भित्र सेवाग्राही बस्ने ठाउँ भन्दा बहिर टन्टलापुर घामनै उपयुक्त हुने सुनाउँछन् । 

सुविधा सम्पन्न शहरमा रहेको जिल्लाकै मुख्य सरकारी कार्यालयको हबिगत यस्तो अवस्थामा रहेकाले अन्य सरकारी कार्यालयको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिने सेवाग्राहीहरुको भनाइ छ । यसबारे प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले समस्याको बारेमा जानकार भएकाले समाधानका लागि आफुले तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

टिप्पणीहरू