एमाले नेताहरू दुईतिर
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिएसँगै नेताहरुले आन्तरिक रणनीति बनाउन थालेका छन् । अध्यक्ष केपी शर्मा ओली र अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहका नेताहरुले महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरसंवाद बढाएका हुन् ।
यसैबीच पोखरेलको पक्षमा खुलेका महिला नेतृहरु आज बागबजारस्थित हार्दिक होटलमा भेला हुँदैछन् । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य द्वय विन्दा पाण्डे र उषाकिरण तिम्सिनालगायतका नेतृहरु छलफलमा जुट्न लागेका हुन् । त्यहाँ उनीहरुले महाधिवेशन प्रतिनिधि र सञ्चारकर्मीसँग नेतृत्व परिवर्तनको आवश्यकताबारे अन्तर्क्रिया गर्ने बताइएको छ । हिजो पनि पोखरेल पक्षधर सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, कर्ण थापासहितका नेताहरुले त्यही पत्रकार सम्मेलन गरेका थिए ।
उता प्रेस चौतारीले पनि ओलीको पक्षमा खुलेका सचिव लेखराज भट्टको लागि छुट्टै पत्रकार सम्मेलनको आयोजना गरेको छ । यसअघि चौतारीले नै उपाध्यक्ष द्वय विष्णु पौडेल र रामबहादुर थापाको लागि पत्रकार सम्मेलन आयोजना गरिदिएको थियो ।
चौतारीले ओली निकटका नेताहरुको लागि मात्र पत्रकार सम्मेलन गरिदिएपछि पोखरेल पक्षधर नेताहरु असन्तुष्ट बनेको बताइन्छ । हिजो च्यासलमा पोखरेल पक्षका एक नेताले यसबारे चौतारीका इञ्चार्ज राजेन्द्र गौतमसँग गुनासो नै गरेको जानकार स्रोत बताउँछ ।
टिप्पणीहरू