एमालेको अवरोधले आज राष्ट्रियसभा बैठक प्रभावित, भोलिका लागि बोलाइयो

एमालेको अवरोधले आज राष्ट्रियसभा बैठक प्रभावित, भोलिका लागि बोलाइयो

राष्ट्रियसभाको बैठक नियमित कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको अवरोध गरेपछि प्रभावित भएको बैठक प्रतिनिधिसभाका पूर्वसांसद मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको हो ।   

यसअघि बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले निष्क्रिय भैसकेको नागरिकता विधेयक प्रमाणिकरण गरेर राष्ट्रपतिबाट असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै विरोध गरेका थिए । त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै एमाले सांसदहरुले नाराबाजी गरेपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । 

त्यसपछि बसेको बैठकले पाण्डेको निधनमा शोक प्रस्ताव सर्वसम्मते पारित गरेको हो । आज बैठकको कार्यसूचीमा रहेका क्रमश: संख्या १, २ र ३ नम्बरका कार्यक्रम हटाएर दोस्रो बैठक बसेको थियो । राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो । 

शोक प्रस्ताव पारितपछि पाण्डेको निधनमा उठेर मौन धारण गरिएको थियो । नेपाली काँग्रेसबाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी पाण्डे २०६४ सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद थिइन् । 

पूर्वमहिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री पाण्डेको यही १६ जेठमा ७२ वर्षको उमेरमा निधन भएको थियो ।

टिप्पणीहरू