जताततै उखरमाउलो गर्मी, विद्यालयहरु धमाधम बन्द

जताततै उखरमाउलो गर्मी, विद्यालयहरु धमाधम बन्द

अत्यधिक गर्मीका कारण तराई र मधेशका जिल्लामा विद्यालय बन्द गर्न थालिएको छ । चितवनका सातमध्ये छ वटा पालिकाका सबै विद्यालय बन्द गरिएका छन् । 

भरतपुर महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु एक हप्ता बन्दको निर्णय गरेको छ । यो बिदा आगामी वर्षे बिदाबाट कट्टा हुने जनाइएको छ ।

उता नेपालगञ्जमा पनि अत्यधिक गर्मी छ । नेपालगञ्ज उपमहानगरपाकिाले आज, भोलि र पर्सि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।  

बाँकेको जानकी गाउँपालिकाले पनि सबै विद्यालय बन्द गरेको छ । तातो हावा चलेपछि शुक्रबारसम्म विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ ।

खजुरा गाउँपालिकाले अस्ति बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरेपनि झन् तापक्रम बढेकाले यो साता पनि बन्द गर्ने सम्बन्धमा छलफल अघि बढाएको बुझिएको छ ।

लामाे समयदेखि पानी नपरेकाले मुलुकभर तापक्रम बढेको हाे । तराई र मधेशका अधिकांश जिल्लामा गत सातादेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

काठमाडौं, पोखरालगायत पहाडी क्षेत्रका धेरैजसो स्थानमा पनि तापक्रम ३२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

टिप्पणीहरू