काँग्रेसी वकिल खाँणको बचाउमा, एमालेहरु टोपबहादुरको पक्षमा

काँग्रेसी वकिल खाँणको बचाउमा, एमालेहरु टोपबहादुरको पक्षमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी कानुन व्यवसायीहरु इच्छुक देखिएका छन् ।

काठमाडौं जिल्ला अदालतमा आजदेखि शुरु भएको थुनछेक बहसमा खाँणको बचाउमा दुई पूर्वमहान्यायधिवक्ता र नेपाल बार एशोसियशनका अध्यक्षलगायतले बहस गर्न चाहेका हुन । जसअनुसार शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका बखत महान्यायाधिवक्ता रहेका खम्मबहादुर खाती र अर्का पूर्वमहान्यायाधिवक्ता महादेव यादव, बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्वय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायत वरिष्ठ अधिवक्ताले बहस गर्न नाम टिपाएका छन् ।  

खाँणको पक्षमा बहस गर्न नाम टिपाएकामा पूर्वमहान्यायाधिवक्ताद्वय, बारका वर्तमान र पूर्वअध्यक्षहरु नेपाली काँग्रेस निकट कानुन व्यवसायीका रुपमा चिनिन्छन् ।  

सोही प्रकरणका अर्का अभियुक्त पूर्वउपप्रधानमन्त्री एवम् एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको पक्षमा केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका रमेश बडाललगायत वकिलले बहस गर्ने बताइएको छ ।

उता, सरकारका पक्षवाट भने सरकारी वकिल कार्यालयका अधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् ।

थुनछेक बहस जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुँदैछ ।

टिप्पणीहरू