भारत र चीनको रिस,पत्रकारमाथि भीसा रध्दको बिष
एसियाका दुई ठूला मुलुक चीन र भारतबीचको तिक्ततापूर्ण सम्बन्ध भुसको आगो झैं फैलिएको छ । सतहमा आर्थिक तथा व्यापारिक सम्बन्ध सहज देखिए पनि राजनीतिक र त्यससँग जोडिएका अन्य सम्बन्धमा दरार आएको देखिन्छ ।
दुवै मुलुकले एक अर्काका सरकारी सञ्चारमाध्यमदेखि निजी क्षेत्रका पत्रकारहरुलाई भीसा नथपेको अवस्था छ । वाल स्ट्रिट जर्नल, सिंगापुरले लेखेको छ, ‘यो महिना भारत सरकारले चीनको सरकारी समाचार समिति सिन्ह्वा र र सिसिटिभीका दुई जना पत्रकारको भीसा थपेन ।’
उता चीनले पनि जस्ताको त्यस्तै शैलीमा चीनस्थित चार जना भारतीय सञ्चारकर्मीमध्ये दुई जनाको भीसा नथप्ने निर्णय गरिदिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । चीनले भीसा नथपेका पत्रकारहरुमा द हिन्दुका बेइजिङ सम्वाददाता अनन्थ कृष्णनन् र प्रसार भारतीका पत्रकार अनुस्मान मिश्र छन् । भीसा थपको निवेदन अस्वीकारसँगै उनीहरुलाई पुनः चीन प्रवेश नगर्न भनिएको छ ।
दुई मुलुुकबीचको सीमा क्षेत्रमा रहेको गल्वान उपत्यकामा तीन वर्षअघि चिनियाँ र भारतीय सेनाबीच भएको धक्काधक्कीलाई सिसिटिभीका पत्रकारहरुले बढाइचढाइ गरेर प्रशारण गरेको भारतीय अधिकारीहरुको दाबी रहेको भ्वाइस अफ अमेरिकाको चिनियाँ भाषा विभागले जनाएको छ ।
उक्त घटनामा कम्तिमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चार चिनियाँ सैनिक हताहत भएको भारतीय दाबी छ । तर, उक्त हताहतीको स्वतन्त्र पुष्टि हालसम्म भएको छैन ।
एकातर्फ चीन र भारत दुबै ब्रिक्स संगठनका संस्थापक सदस्य हुन् । उक्त संगठनमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका आवध्द छन् । तर अमेरिका–जापान–भारत–अष्ट्रेलिया आवद्ध सुरक्षा संवाद ( क्वाड ) मा भारतको बढ्दो सहभागितातर्फ चीन सतर्क हुँदै आएको अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरुको बुझाइ छ ।
भारतले टिकटक र विच्याटलगायत चिनियाँ कम्पनीले विकास गरेको सफ्टवेयर र सामाजिक सञ्जालको प्रयोगमा क्रमशः प्रतिबन्ध लगाउँदै आएको छ । भारतमा बेलाबखत चिनियाँ सरसामानविरुध्द ठूलै संख्यामा विरोध हुने गरेको छ । त्यसमा देखिने गरेको सरकारी मौनताले रहस्य थपेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङ्सले अस्ति बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बताइन्, ‘भारतले नयाँ दिल्लीलगायत शहरमा कार्यरत चिनियाँ पत्रकारहरूको निम्ति सन् २०१७ देखि बढीमा तीन महिनाको मात्रै भीसा दिन थाल्यो । २०२० देखि चिनियाँ पत्रकारहरुको अस्थायी आवासीय भीसा आवेदनलाई समेत अस्वीकार गरिएको छ ।’
टिप्पणीहरू