भारतीय दूतावासको दैलोमा राजावादीको जुलुस

पूर्वपञ्चहरुको पार्टी राप्रपाको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ । 

लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगाडि युवा संगठनले आज प्रदर्शन गरेको हो । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गरेर नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको  संगठनका संयोजक सुजित केसीले जानकारी दिए । 

सोक्रममा राप्रपाका युवाहरुले ‘अखण्ड भारत’ नक्सासमेत जलाएका थिए । यसअघि संगठनले विज्ञप्तिमार्फत् नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । तर, भारतले सो नक्सा नसच्याएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक केसीले बताए ।

टिप्पणीहरू