जोरपाटी–साँखु सडक ठप्प, यात्रुको बिचल्ली

जोरपाटी–साँखु सडक ठप्प, यात्रुको बिचल्ली

ठेकेदारको लापरवाहीका कारण वर्षौंदेखि अलपत्र रहेको सडक निर्माण तत्काल सम्पन्नको माग गर्दै जोरपाटी–साँखु सडक बन्द गरिएको छ । सो क्षेत्रका स्थानीयले दक्षिणढोका सडकखण्ड बिहानैदेखि बन्द गरेका हुन् । 

उनीहरुले निर्माण सामग्री नझारेसम्म सडक नखोल्ने अडान लिएका छन् । प्रहरी वृत्त, बौद्धले सडक खुलाउन पहल गर्दा पनि स्थानीयले मानेका नमानको जानकारी दिएको छ । प्रहरी वृत्त, बौद्ध, स्थानीय र ठेकेदार सुबित श्रेष्ठलगायत पाँच दर्जनको उपस्थितिमा माकलबारी पुलनजिकै तीन दिनदेखि सडक निर्माण तत्काल सकाउने विषयमा छलफल भइरहेको थियो । 

आज बिहान बसेको बैठकमा ठेकेदार श्रेष्ठले पर्सिबाट काम थाल्ने मौखिक सहमति जनाए । तर विगतमाझैं आफूहरुलाई आश्वासन मात्रै दिइएको आरोप लगाउँदै स्थानीयले सामान नझारेसम्म सडक नखुलाउने ढिपी कसेका हुन् । सडक खुलाउन निरन्तर प्रयास भइरहेको बौद्धका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि बस्नेतले बताए । उनले साँझ ६ बजेदेखि सडक सुचारुको पहल भइरहेको जानकारी दिए । 

‘विगत लामो समयदेखि उहाँहरुले सडक पिच गरिदिनुपर्यो भन्दै आउनुभएको रहेछ । तरपनि पिच हुन सकेको थिएन् । तीन दिनदेखि बसेको बैठकमा पर्सिबाट काम थाल्ने सहमति भएको थियो । उहाँहरुले निर्माण सामग्री नझारेसम्म बाटो नखोल्ने अडान लिनुभयो । हामी बाटो खोल्न पहल गरिरहेका छौं, सम्भवतः ६ बजेदेखि खुल्ला’, उनले भने ।

टिप्पणीहरू