सामाजिक सञ्जालमा प्रकाशित वैदेशिक रोजगारीको विज्ञापनमा विश्वास नगर्न आग्रह

सामाजिक सञ्जालमा प्रकाशित वैदेशिक रोजगारीको विज्ञापनमा विश्वास नगर्न आग्रह

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि आकर्षक विज्ञापन बनाएर सामाजिक सञ्जालमा गरिने प्रचार सत्य नभएको बताएको छ । 

दक्षिण अफ्रिका, अमेरिका, युरोपलगायतका मुलुकमा रोजगारीका लागि पठाउने भनी सामाजिक सञ्जालमा सम्प्रेषित मिथ्या र भ्रमपूर्ण विज्ञापनप्रति विश्वास नगर्न विभागले सबैलाई आग्रहसमेत गरेको छ । दक्षिण अफ्रिकामा आकर्षक तलब र सेवासुविधासहित राम्रो काममा लगाइदिने प्रलोभन देखाएर लाखौं ठगी भएको समाचार बाहिरिएपछि विभागले त्यसप्रति चासो देखाउँदै सञ्जालमा आएका वि ज्ञापनको पछाडि नलाग्न भनेको हो । 

विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगष्ट २०२२ मा प्रकाशित निर्णयमा विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लिने कानुनी व्यवस्था छ । 

त्यस्ता पदहरुमा वैदेशिक रोजगारीमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जान मिल्ने उनको भनाइ छ । त्यस्तै, उनले भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा भ्रमणका लागि मात्र भएको पनि स्पष्ट पारेका छन् । 

भिजिट भिसाका आधारमा रोजगारीमा संलग्न हुन नपाइने र त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई सम्बन्धित दमुलुकका सरकारी निकायले पक्राउगरी कानुनबमोजिम दण्ड, जरिवाना र थुनामा राखेर देश निकाला गर्ने प्रावधान रहेकोतर्फ पनि सूचना अधिकारी सुवेदीले सतर्क गराएका छन् ।  

जुनसुकै मुलुक जानका लागि सम्बन्धित देशको भिसा आवश्यक पर्ने र त्यो सोचेजति सजिलो नभएको बताउँदै उनले भने,‘भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग या ती मुलुक हेर्ने विदेशस्थित नेपाली नियोगहरुमा सम्पर्क गरी आधिकारिक जानकारी लिन आग्रह गर्दछौं ।’

 

टिप्पणीहरू