प्रधानमन्त्री प्रचण्ड बसेकै होटलमा भारतीय विदेश सचिव र सुरक्षा सल्लाहकारको भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड बसेकै होटलमा भारतीय विदेश सचिव र सुरक्षा सल्लाहकारको भेटवार्ता

भरतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समकक्षी नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गर्नुभएको छ ।

आज दिउँसो नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई डोभाल र क्वात्राले होटेल मौर्यमा पुगेर भेट गरेका हुन् । प्रधानमन्त्री सोही होटलमा बस्नुभएको छ । 

त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् । आजै साँझ भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका छन् ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले भोलि भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । लगत्तै दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुनेछ । भोलि नै मोदीले आफ्ना नेपाली समकक्षीको  सम्मानमा दिवाभोजको आयोजना गर्नुहुने जनाइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इनदौरको भ्रमण गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड जेठ २० गते स्वदेश फर्कनुहुनेछ ।

टिप्पणीहरू