वडाका कर्मचारी खटाएर राजस्व अनुगमन गर्दै महानगर

वडाका कर्मचारी खटाएर राजस्व अनुगमन गर्दै महानगर

काठमाडौं महानगरपालिकाले राजस्व अनुगमन गर्ने भएको छ । महानगरको राजस्व विभागले वडास्तरीय राजस्व अनुगमनका लागि वडा कार्यालयहरुलाई निर्देशन दिएको हो । 

विभागले सम्पूर्ण वडा कार्यालयलाई पत्राचार गर्दै सम्पत्तिकर र बहाल कर बुझाए–नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए–नभएको अनुगमन गर्न भनेको छ । त्यस्तै, अनुगमनको क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर तिर्न प्रोत्साहन गर्न र प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन पनि निर्देशन दिइएको छ  । 

गत जेठ १ गते बसेको महानगरपालिकाको कार्यपालिकाको बैठकले राजस्व अनुगमन गर्ने निर्णय गरेको विभागले जनाएको छ । अनुगमनमा जनप्रतिनिधि र कर्मचारी खटिने छन् । अनुगमन टोलीको छनोट वडाध्यक्षले गर्ने तय भएको छ । 

तोकिएको दिनमा सम्बन्धित करदाता स्थलमा पुगेर सम्पत्ति, कर, बहाल कर र व्यवसाय नविकरणको फाराम भरिने विभागले जनाएको छ । 

‘तोकिएको दिनमा सम्बन्धित करदाताहरुको स्थलमा पुगेर सम्पत्ति कर, बहाल कर र व्यवसाय दर्ता नविकरणको फाराम भरिनेछ । यस क्रममा आवश्यक कागजातहरुको प्रतिलिपिसमेत लिइनेछ । यसरी भरिएका विवरण फारामहरु हरेक दिन वडा कार्यालयमा बुझाइनेछ’, विभागले भनेको छ,‘वडा कार्यालयमा प्राप्त भएका फारामहरु कम्प्युटरमा इन्ट्री गराएर प्रमाणपत्र तथा कर चुक्ता जारी गरिनेछ । यसबापत तिर्नुपर्ने कर करदातालाई अनलाइन प्रणालीबाट तिर्न लगाइन्छ । त्यसपछि प्रमाणपत्र स्थलगत रुपमा उपलब्ध गराइनेछ ।’

त्यस्तै, अनलाइन प्रणालीबाट राजस्व भुक्तानी नगर्ने करदाताहरुलाई कर बुझाउन र प्रमाणपत्र तथा कर चुक्ता बुझ्न वडा कार्यालयमा नै बोलाउने जनाइएको छ ।

टिप्पणीहरू