काठमाडौँका तीन दर्जन मोटरसाइकल वर्कसप कारवाहीमा

काठमाडौँका तीन दर्जन मोटरसाइकल वर्कसप कारवाहीमा

काठमाडौं महानगरपालिकाले झण्डै तीन दर्जन मोटरसाइकल वर्कसपमाथि कारबाही गरेको छ । 

सडक आवागमनलाई अवरोध हुनेगरी सञ्चालन गरिएका ३४ वटा वकर्सपलाई महानगरले कारवाहीस्वरूप पाँच हजार रुपैयाँका दरले जरिवाना तिराएको हो । 

महानगर प्रहरीको टोलीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर गर्ने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने गरेको भन्दै ५५ जनालाई नियन्त्रणमा पनि लिएको छ ।  

त्यस्तै, कबाडी सामान संकलन गरेर सडकमा राख्ने दुई जनालाई १० हजार रुपैयाँका दरले जरिवाना तिराइएको छ । क्याम्पस भर्नाका लागि प्रचार सामग्री बोकेर हिँडेको एक जनालाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । 

उनीहरुलाई कारबाही गरेर हिजो एकदिनमै एक लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरिएको महानगरपालिकाले जनाएको छ । महानगर प्रहरी बलले सार्वजनिक आवागमन, शहरी सुन्दरता र व्यवस्थापनमा बाधा गर्नेलाई नियन्त्रणमा लिएर जरिवाना तिराउँदै आएको छ ।
 

टिप्पणीहरू