घण्टौं ढिलो पुगेको अख्तियार टोलीले भन्यो : फसाउन खोज्नेदेखि जोगिनु

घण्टौं ढिलो पुगेको अख्तियार टोलीले भन्यो : फसाउन खोज्नेदेखि जोगिनु

अञ्जनकुमार 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा टोली लमजुङ र मनाङको भ्रमणपछि राजधानी फर्केको छ । आइतबारदेखि उनीहरू भ्रमणमा निस्केका थिए ।

दुई दिनअघि मनाङ पुगेर अस्ति लमजुङ सदरमुकाम बेसीशहर आएका उनीहरूले जिल्ला प्रशासन कार्यालयको हलमा कर्मचारीका हाकिमलाई निर्देशन दिएका छन् । लमजुङमा जिल्लाका विकासे अड्डाको रुपमा परिचित वन,घरेलु तथा पर्यटन,भेटेरिनरी,कृषि ज्ञान केन्द्र,प्रधानमन्त्री आधुनिकीकरण, पूर्वाधार,शिक्षा तथा समन्वय इकाई,जलस्रोत तथा सिन्चाई,संघीय खानेपानी तथा ढल व्यवस्थापनलगायत कार्यालयका प्रमुखहरुसँग टोलीले छलफल गरेको थियो ।

आयोगका सचिव रामेश्वर दंगाल, सहसचिव कोषहरि निरौला,पोखरा कार्यालय प्रमुख बद्रिकुमार कार्की पोखरा हुँदै मनाङ पुगेका थिए । मनाङमा पनि हाकिमहरुसँग छलफल र मौखिक निर्देशनपछि उनीहरु बेसी झरेका थिए ।

लमजुङका कार्यालय प्रमुखहरुलाई निर्धारित समयमा कार्यालय पोशाकमा आउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरिएको थियो । कर्मचारीहरु तोकिएको समय बिहान १० बजे नै जिल्ला प्रशासन कार्यालयको सभा हलमा जम्मा भए । तर अख्तियार टोली साढे १ बजेमात्रै हलमा पुगेको सहभागी एक कर्मचारीले बताए ।

सचिव रामेश्वरले कर्मचारीहरुलाई निर्देशन दिँदै भने, ‘अवस्था जटिल भएकाले फसाउन खोज्नेदेखि सजग रहनु । भ्रष्टाचारका कुनै संकेत पाइए तत्काल अख्तियारलाई खबर गर्नु ।’

स्थानीय तहमा निकै अनियमितता भएको गुनासो आए पनि उक्त कार्यक्रममा जानकारी नगराइएको बुझिएको छ । सहभागी एक जनाले भने,‘स्थानीय तहमा व्यापक भ्रष्टाचार भएको बताइन्छ । तर, अख्तियार टोलीसँगको छलफलमा त्यस्तो कुनै कुरो उठाइएन ।’

टिप्पणीहरू