"बाघ"ले घरिघरि किन घाँस नखाने कुरा कोट्याउँछ ?

"बाघ"ले घरिघरि किन घाँस नखाने कुरा कोट्याउँछ ?

'हो,तन्नेरीमा बाघले घाँस खाँदैन । तर,जब बाघ बूढो हुन्छ, पेट भर्नका लागि किरा फट्यांग्रा खोज्न थाल्छ', पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टमबाट आफूलाई नेपाली राजनीतिको बाघ दाबी गरेपछि अहिले सामाजिक सञ्जालमा यस्ता प्रतिक्रियाहरु देखिन्छ । ओली राजनीतिको बाघ हो या स्याल यसमा छुट्टै बहस गर्न सकिएला । तर, विगतमा जस्तो दम पछिल्लो भाषणमा देखिएन । हुँदै नभएका कुरालाई पनि हो कि झैँ पार्न सक्ने उहाँ निकै रक्षात्मक देखिएपछि विभिन्न कोणबाट विश्लेषण भैरहेको छ ।  

सर्वसाधारण नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमाथि प्रहरी अनुसन्धान अघि बढिरहेका बेला ओलीले केन्द्रीय कमिटी  बैठकबाट उद्घोष गर्नुभयो- जेठ ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा यो काण्डका थप रहस्य खोल्छु । तर, त्यसदिन प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम तय भएकाले बोल्न समय नपाउने भएपछि संसद बैठकमै नजानुभएका ओली आइतबार रोष्टममा उभिँदा धेरैको चासो थियो । तत्कालीन नेकपामा विवाद हुँदा आफूलाई दह्रो साथ दिएका टोपबहादुर रायमाझी हुँदै रामबहादुर थापा बादलसम्म यो प्रकरणमा मुछिएपछि रिसाउनुभएका उहाँले तथ्य प्रमाणसहित रहस्य खोल्ने अपेक्षा गरिए पनि झन्डै दुई घण्टा लामो भाषण सत्तापक्षको आलोचनामै खर्चिनुभयो,शरणार्थी प्रकरणमा नयाँ तथ्य केही आएन । 

राष्ट्रपतिले जम्मा १ घण्टा ४४ मीनेटमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले १ घण्टा ५२ मीनेट बोल्नुभयो । त्यसक्रममा उहाँले बीचमा केहीबेर नेपालले भोगेको भुटानी शरणार्थी समस्या र त्यसको समाधानमा आफूले गरेका राजनीतिक पहल मात्र सुनाउनुभयो । सरकारले यस प्रकरणमा नाम जोडिएका सत्तापक्षका नेतालाई जोगाउने र आफ्ना नेतालाई फसाउने षड्यन्त्र गरेको सतही आरोप लगाएर '...न्यानोमा' केहीबेर रमाउनुभयो ।   

ओलीले आफ्नो भाषणमा 'बाघ बरु भोकै मर्छ तर घाँस खाँदैन' भन्दै आफूलाई शक्तिशाली नेताका रुपमा चित्रित त गर्नुभयो,तर उहाँको प्रस्तुति भने रक्षात्मक देखिन्थ्यो । सिंह बन्न खोज्दाखोज्दै स्याल बनेको पत्तै नपाउनु भएका उहाँले आफ्नै पालामा भुटानी शरणार्थीलाई विदेश पठाउने काम शुरु भएको स्वीकार गर्नुभयो । बादलले बनाएको कार्यदलको जिम्मा पनि घुमाउरो ढंगले लिनुभयो । थप तथ्य-प्रमाण ल्याएर यस प्रकरणका सारा कुरा खोल्छु भन्नुभएका ओलीमा त्यसो भनिरहँदा कुनै तेज देखिएन । 

यदि यो कुराका निम्ति भारतीयहरुले पैसा खुवाएका छन् भन्ने अमेरिकी प्रतिवेदनलाई मान्ने हो भने आरोप ओलीतिर पनि तेर्सिन्छ । सार्वभौम संसदको रोष्टममा दुई घण्टा बोल्ने मौका पाउँदा तत्कालीन चर्चाको यो विषयमा उहाँले किन एक शब्द पनि चुहाउनु भएन ? आरोप मात्रै हो भने खण्डन गरिनुपर्थ्यो, तर गरिएन । 

विश्लेषकहरु भन्छन्- वास्तवमा ओलीले कुनै रहस्यको पोका खोल्ने अवस्था नै थिएन । नीति तथा कार्यक्रमलाई छायामा पार्न सुविचारित ढंगले अघि सारिएको फण्डा थियो त्यो । नीति कार्यक्रममाथि टिप्पणी गर्न संसदको रोष्टममा उभिनुभएका ओलीले विषयान्तर गरेर लामो भाषण गर्दा पनि सभामुखबाट कुनै रोकतोक नहुनु अर्को आश्चर्य थियो । सामान्यतया; सांसदहरुले विषयमा केन्द्रित नभई बोल्दा सभामुखले 'विषयमा आऊँ माननीय सदस्य' भन्दै सचेत गराउने अभ्यास ओलीको हकमा लागू भएन । यसअघि सुवास नेम्वाङ सभामुख हुँदा शीर्ष नेताहरुलाई पनि यसरी सचेत गराएको दृष्टान्त छ । सायद ओलीलाई नेम्वाङ्गको त्यो कुरो मन नपरेका कारण राष्ट्रपतिको उम्मेदवार बनाउन नचाहेको हो कि ! 

अर्को कुरा,ओलीले शीर्ष नेताहरुको भेटघाटलाई लिएर बाहिर गरिएका आशंकाको पनि विश्वासिलो खण्डन गर्न सक्नुभएन । बरु नेताहरु मिलेर भ्रष्टाचारीलाई उम्काउन खोजेका हुन् कि भन्ने आम आशंकालाई बल पुग्नेगरी सतही तर्क गर्नुभयो । फास्ट ट्रयाकबाट टिआरसी विधेयक पास गर्ने,एमालेले तीन वटा संसदीय समितिको सभापति पाउने र प्रधानन्यायाधीश सिफारिस गर्ने पूर्वसहमतिबाट एमाले ब्याक हुँदा तीन दलबीच सम्बन्ध बिग्रिसकेको थियो । पछि शरणार्थी प्रकरणमा एमाले र कांग्रेसका ठूला नेता समातिएपछि नेताहरुको भेटघाट फेरि बढेको जो कोहीले पनि प्रष्टै बुझ्छ । 

माओवादी स्रोतका अनुसार शुरुमा प्रधानमन्त्री प्रचण्डसँग भेट्दा टोपबहादुरलाई पक्राउ गर्न हुँदैन भन्नेमा ओलीको अलि बढी जोड थियो । सबैतिरबाट दबाब बढेपछि र बालकृष्ण खाँण पक्राउ परेपछि मात्रै एमालेले रायमाझीलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्नुले पनि सकेसम्म बचाउने प्रयास गरेको आशंकालाई बल पुर्याउँछ । संसदको भाषणमा यो प्रसंगमा पनि ओली आक्रामकभन्दा रक्षात्मक देखिनुभयो । भन्नुभयो - तीनटा नेता बस्या छ, अनि दुई जना चैं एकदम दूधले नुहाएको जस्तो,म चैँ हाम्रो मान्छेलाई पक्राउ नगर भन्न गए जस्तो । 

अहिले संसदमा बोल्नुपर्ने अर्को तात्तातो विषय थियो - नेपालका नेताहरुले भारतीय पैसा खाएर हिन्दुत्वको नारा लगाएको दावीसहितको अमेरिकी प्रतिवेदन । हिन्दु राष्ट्रका निम्ति भारतको सत्तारुढ दल बीजेपीले नेपालका नेताहरुलाई पैसा खुवाउने गरेको दावीसहित लिखित रुपमा आएको उक्त प्रतिवेदनबारे भने प्रमुख प्रतिपक्ष दलका 'बाघ नेता' ले बोल्नै चाहनुभएन । हुन त, धेरैले अमेरिकी प्रतिवेदनमा उल्लेख त्यो विषय राप्रपालगायतका पार्टी र नेताहरुतर्फ केन्द्रित रहेको अनुमान लगाएका छन् । तर, घटनाक्रमले भने ओलीमाथि पनि शंका गर्ने ठाउँ छोडेको छ । किनभने उहाँ प्रधानमन्त्री भएका बेला हिन्दुत्व विस्तारका लागि थुप्रै काम भएका थिए । ठोरीमा राम सीताको मूर्ति बनाउनेदेखि पशुपतिमा सुनको जलहारी चढाउनेसम्मका कृत्य ओलीकै पहलमा भएको हो । बालुवाटारबाटै पर्यटनमन्त्री भानुभक्त ढकालको जिम्मा लगाएर राम,सीता र लक्ष्मणको मूर्ति पठाई ठोरीमा मन्दिर स्थापना त्यहीबेला गरिएको हो । पुरेतसमेत यता मूलपानीबाट पठाईएको थियो । यदि यो कुराका निम्ति भारतीयहरुले पैसा खुवाएका छन् भन्ने अमेरिकी प्रतिवेदनलाई मान्ने हो भने आरोप ओलीतिर पनि तेर्सिन्छ । सार्वभौम संसदको रोष्टममा दुई घण्टा बोल्ने मौका पाउँदा तत्कालीन चर्चाको यो विषयमा उहाँले किन एक शब्द पनि चुहाउनु भएन ? आरोप मात्रै हो भने खण्डन गरिनुपर्थ्यो, तर गरिएन । 

अर्कोतिर आफू संसदमा बोल्न जानुअघि संसदीय दलको बैठक बोलाएर ओलीले आफ्ना सांसदहरुको भूमिकाप्रति बेखुशी प्रकट गर्नुभएको थियो । सांसदहरुलाई प्रो-एक्टिभ हुन निर्देशन दिनुभएका उहाँ आफैँले भने 'सरकारलाई समर्थन गर्दिन पनि सक्छौँ' भन्नुको अर्थ के होला ? भनिन्छ,संसदमा यसरी ओली रक्षात्मक देखिनुमा भूराजनीतिक प्रभावले पनि भूमिका खेलेको छ । विगतमा प्रो-इण्डियनको आरोप खेपेका ओलीको उदय पछिल्लो समय 'एन्टी-इन्डियन स्लोगन' बाट भएको हो । नाकाबन्दीका बेला भारतसँग लिएको टक्कर होस् या कालापानीको भूभाग समेटिएको नक्सा जारी गर्दा होस् उहाँको प्रशंसा नै भएको छ । तर, नेपालमा हिन्दुराज्य कायम गराउन चाहेको बिजेपीको हिन्दुत्वको एजेन्डा जानीनजानी स्वीकार गरेको पनि देखिन्छ । जानकारहरुका अनुसार जतिबेलादेखि ओलीले दुई तिहाइको सरकारको नेतृत्व गर्नुभयो त्यतिबेलाबाटै उहाँले भारतको विश्वास गुमाउनु भयो र, इन्डियन क्याम्पबाट अमेरिकन क्याम्पमा स्विम हुनुभयो । एमसीसी पास गराउन उहाँले देखाएको तत्परता पश्चिमाहरुको विश्वासपात्रका रुपमा चर्चा गरिने शेरबहादुर देउवाको भन्दा कम थिएन । तर, ओली र देउवाले एसपिपिमा कमिटमेन्ट गरेअनुसार काम गर्न नसकेपछि अहिले अमेरिकनको रोजाई फेरिएको छ । रवि लामिछानेहरु राजनीतिमा नयाँ ढंगले उदाएका छन् । 

हिन्दुत्वको नारा बोकेको भनी अमेरिका टेढिन खोजेको छनक पाएरै होला त्यसको ब्यालेन्स गर्न होलिवाइनवाला एकनाथ ढकाललाई अर्को पार्टीको अध्यक्ष हुँदाहुँदै पनि एमालेबाट समानुपातिक सांसद बनाइएको पनि हो । ढकालले सांसद जिते तर,एमालेले क्रिश्चियनको भोट पाएन । चर्चका सारा भोट रविका उम्मेदवारलाई खस्यो । आशंका गर्नेहरु भन्छन् - केही समयअघिसम्म रविलाई गृहमन्त्री बनाउन त्यत्रो लबिङ गर्नुभएका ओली अहिले आलोचना गरिरहनु भएको छ । बिना कुनै फण्डामेन्टल चेञ्जेज इन सर्कमस्ट्यान्सेज कसरी बिरोधी हुनुभयो ?' विश्लेषकहरु सुनाउँछन् - संसदमा ओलीको निरिहता शक्ति केन्द्रहरुको विश्वास गुमाएर कमजोर अनुभूत गर्नुको परिणाम हो ।

टिप्पणीहरू