तीन वटा नागरिकता बोकेका प्रधानाध्यापकको बैंकमा ३० लाख

तीन वटा नागरिकता बोकेका प्रधानाध्यापकको बैंकमा ३० लाख

मधेश प्रदेशका एक विद्यालयका प्रधानाध्यापकले दोहोरो नागरिकता लिएका छन् । सिरहाको चन्द्र उच्च माध्यमिक विद्यालय प्रधानाध्यापक मधुसुदन कर्णले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट पनि फरक फरक जन्मस्थान उल्लेख गरेर उनले दुई पटक नागरिकता लिएको बताइन्छ । पहिलो पटक सिरहाको चन्द्रोदयपुर २ जन्मस्थान  उल्लेख  गरेर उनले २०४२ साउन २० गते नागरिकता लिएका हुन् । उक्त नागरिकतामा जन्म मिति २०२१ साल लेखिएको छ ।

तिनै मधुसुदनले जिल्ला प्रशासन कार्यालय सिरहाबाट पुनः लिएको नागरिकता प्रमाणपत्रमा जन्म मिति २०२८ जेठ १ उल्लेख छ भने जन्मस्थान विष्णुपुर उल्लेख छ । दुवै नागरिकतामा बाबुको नाम तेजनारायण लाल कर्ण लेखिएको पाइएको छ ।

सिरहाबाट दुई पटक नागरिकता लिएका उनै मधुसुदन कर्णले छिमेकी देश भारतबाट समेत नागरिकता लिएको फेला परेको हो । भारत निर्वाचन आयोगको मतदाता सूचीमा उनले बाबुको नाम तेजनारायण लाल कर्ण नै उल्लेख गरेका छन्  (हे. तस्बिर) ।

भारतको पञ्जाव नेशनल बैंकमा भारू ३० लाख रूपैयाँ बचत रहेको बताएका उनले भारतीय नागरिकता लिएकोबारे बताउन चाहेनन् । ‘मेरा पुर्खाले नेपालको शिक्षा क्षेत्रको विकासमा मनग्गे योगदान गरेका छन्,’ उनले भने, ‘म कसरी भारतको नागरिकता लिनसक्छु ? यो सब मिथ्याको हल्ला हो ।’
 
तर, दोहोरो नागरिकता लिएको प्रमाण फेला परेको भन्दै रैथाने एकता परिषद्ले उनको नागरिकताबारे तत्काल छानबिनको माग गरेको छ । नेपाल–भारत दुवै देशको नागरिकता लिए पनि प्रशासनले मौनता साँधेको भन्दै परिषद्ले आपत्ति जनाएको छ । 

रैथाने एकता परिषद्का लहान नगर कमिटीका संयोजक भाग्यश्वर चौधरीले भने, ‘उनले दुवै देशको नागरिकता लिएको विषयमा हाम्रो संगठनले गृहमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’ सोही नागरिकता छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा परिषद्ले पटकपटक उजुरी दिएको पनि चौधरीले बताए ।


 

टिप्पणीहरू