सेनाले सेनेटरी प्याड बनाउने, सित्तैँ बाँड्ने

सेनाले सेनेटरी प्याड बनाउने, सित्तैँ बाँड्ने

नेपाली सेनाले महिला सैनिक तथा कर्मचारीहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भएको छ । उसले प्रतिव्यक्ति मासिक १६ वटा सेनेटरी प्याड वितरण गर्न लागेको हो । यसका लागि सेनेटरी प्याड उत्पादन गर्ने कारखानासमेत स्थापना गरिएको जानकारी दिइएको छ ।

केन्द्रीय कार्यालय, भद्रकालीमा प्याड उत्पादन गर्ने कारखाना खोलिएको सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । उनका अनुसार हाल प्याड उत्पादन शुरु भइसकेको छ । योसँगै सेनाले सैनिक कल्याणकारी कोषअन्तर्गत सञ्चालित महाविद्यालय तथा विद्यालयका छात्राहरुलाई पनि निःशुल्क प्याड वितरण गर्ने तयारी गरेको बताइन्छ ।

उनका अनुसार प्रधानसेनापतिको कमाण्ड नीति तथा मार्ग निर्देशन २०७८ को लक्ष्य नम्बर ६ (कल्याणकारी सेवा र सहुलियतको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने) अनुरुप यो व्यवस्था गरिएको हो । हाल सेनामा कूल ६ हजार दुई सय महिला कर्मचारी कार्यरत छन् । 

प्याड उत्पादन गर्ने मेशिन विभिन्न संस्थाले सहयोग गरेको उल्लेख गर्दै उनले भने, ‘हाल एउटा मेशिन जडान गरेका छौं । मेशिनले प्रति मीनेट ३० देखि ६० वटासम्म प्याड उत्पादन गर्न सक्छ । तीन महिनालाई पुग्ने कच्चा पदार्थ हामीसँग छ । त्यसपछि सैनिक कल्याणकारी कोषमार्फत व्यवस्थापन गर्छौं ।’

हरेक सुरक्षा निकायमा महिला कर्मचारी छन् तर सेनाको जस्तो महिलालक्षित सुविधा अन्य निकायमा छैन । महिनावारी नियमित हुने प्राकृतिक प्रक्रिया हो । महिलाहरु हरेक महिना रजस्वला हुन्छन् । रजस्वला भएको बेला अधिकांश महिलालाई अत्यधिक शारीरिक पीडा हुने गरेको छ ।  

झन् मुलुक र आम नागरिकको शान्तिसुरक्षाका लागि खटिने महिला प्रहरीको पीडा भनिसाध्य छैन । उनीहरुले घामपानी र धुवाँधुलो भन्न पाएका छैनन् । फिल्डमा खटिने महिला प्रहरीलाई महिनावारीको बेलामा झनै समस्या पर्ने गरेको छ । 

एकातिर साथमा प्याड हुँदैन, अर्कोतिर शौचालयको अभाव । यस्तोमा सेना आफैंले प्याड उत्पादन गर्ने कारखाना सञ्चालनमा ल्याउनु भनेको ठूलो कुरा हो । यता, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरीले महिला कर्मचारीका लागि के व्यवस्था गरेको छ त ? 

नेपाल प्रहरीले महिला प्रहरीका निम्ति खासै कुनै पनि त्यस्तो व्यवस्था गरेको छैन । प्रहरीले बेलाबखत सेनेटरी प्याड बाँड्ने गरेको प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले बताए । उनले कारखाना नै स्थापना गरेर निःशुल्क प्याड वितरण गर्ने कार्य प्रहरीबाट हालसम्म पनि नभएको जानकारी दिए । 

महिनावारी भएको बेलामा महिला प्रहरीहरुलाई शारीरिक व्यायामबाट भने छुट दिइएको उनको भनाइ छ । नेपाल प्रहरीमा सबै दर्जाको गरेर आठ हजार ९४९ महिला कर्मचारी छन् । ‘हामीले कहिलेकाँही प्याड वितरण गर्ने कार्यक्रम सञ्चालन गर्दै आएका छौं । तर, त्यसरी कारखाना नै खोलेर प्याड उत्पादन गर्ने काम प्रहरीले गरेको छैन । ड्युटीमा खटिने प्रहरीलाई अलिक गाह्रो हुन्छ’, उनले भने, ‘त्यसैले उहाँहरुलाई त्यतिबेला शारीरिक व्यायामबाट छुट्कारा दिएका छौं । साह्रै गाह्रो भएको अवस्थामा बिदा पाउनुहुन्छ ।’

त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपालले महिला कर्मचारीलाई लक्षित गरेर धमाधम भेन्डिङ मेशिन जडान गरिरहेको छ । हालसम्म ६० देखि ६५ ठाउँमा मेशिन जडान गरिसकेको सशस्त्रका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए । उनका अनुसार बच्चा भएका महिलालाई लक्षित गरेर शिशु स्याहार केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ । सशस्त्रमा झण्डै तीन हजार तीन सय महिला कर्मचारी रहेको उनले जानकारी दिए । 

‘सशस्त्रले मुख्य कार्यालयसहित ६० देखि ६५ वटा बाहिनी अड्डा, गण, ब्यारेकहरुमा भेन्डिङ मेशिन जडान गरिसकेको छ । अन्यमा पनि जडान गर्ने कार्य हुँदैछ । हामीले भेन्डिङ मेशिनलाई नै प्राथमिकतामा राखेका छौं । अहिले नै प्याड उत्पादन गर्ने कारखाना खोल्ने तयारी छैन् । महिनावारीको बेला सबैलाई धेरै गाह्रो हुन्छ भन्ने छैन । धेरै गाह्रो हुनेले छुट्टी पाइहाल्नुहुन्छ ।’ 

यता, ट्राफिक प्रहरीले सामान्य भेन्डिङ मेशिनको समेत व्यवस्थापन गर्न सकेको छैन् । सडकमा दौडिरहनुपर्ने ड्युटी भएकाले महिनावारी भएको बेलामा महिला ट्राफिक प्रहरीलाई निकै सास्ती हुने गरेको छ । 

रजस्वलाको समयमा आवश्यक पर्ने सेनेटरी प्याडलगायत कुनै पनि सुरक्षा सामग्री कार्यालयले प्रदान नगर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । ‘अन्यमा भए हामीलाई थाहा भएन । तर, ट्राफिक प्रहरीमा चाँहि त्यस्तो व्यवस्था छैन’, उनले भने ।

टिप्पणीहरू