संसदमा बोल्ने पालो नपाएपछि एमाले अध्यक्षले घरबाटै भन्नुभो : शुभकामना छ !

संसदमा बोल्ने पालो नपाएपछि एमाले अध्यक्षले घरबाटै भन्नुभो : शुभकामना छ !

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदबाट थप पोल खोल्ने बताउनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजको प्रतिनिधिसभा बैठकमै जानुभएन । उहाँले केही दिनअघि जेठ ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा यस प्रकरणबारे थप खुलासा गर्ने बताउनुभएको थियो ।

तर, आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम तय भयो । सोही कारण ओलीलगायत संसदहरुले बोल्ने अवस्था रहेन । बुझिएअनुसार उक्त कारण देखाउँदै उहाँ आजको बैठकमा नजानुभएको हो । 

तथापि अध्यक्ष ओलीले भने आफू बिरामी परेका कारण संसद बैठकमा सहभागी हुन नसकेको बताउनुभएको छ । आज साँझ फेसबुकमा स्टाटस लेख्दै उहाँले आज बिरामी परेका कारण बैठकमा उपस्थित हुन नसके पनि अर्को दिन शरणार्थी प्रकरणका विषयमा आफूले थाहा पाएका तथ्यहरु संसदमा राख्ने उल्लेख गर्नुभएको छ । 

‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु’, उहाँले लेख्नुभएको छ । 

अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग सांसदहरुको सवालजवाफ कार्यक्रम प्रभावकारी हुनुपर्नेमा समेत जोड दिनुभएको छ । ‘सम्माननीय सभामुखज्यूले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नु भएको छ’, उहाँ भन्नुहुन्छ, ‘ठीक छ ।’ 

तर, प्रश्न औपचारिकतामा मात्रै सीमित हुन नहुने बताउनुभएका उहाँले उत्तर पनि ओठे प्रतिबद्धता मात्रै हुन् नहुने बताउनुभएको छ । ‘प्रश्नहरु दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्छ’, एमाले अध्यक्ष भन्नुहुन्छ । 

सांसद्हरुले संसदमा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सक्नुपर्ने र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा हुनुपर्ने ओलीको भनाई छ । त्यसले हरेक नागरिकले संसदमा आफैं भएको महशस गर्न पाउने ओलीको विश्वास छ । 

‘प्रश्नहरु औपचारिकता मात्रै नहोउन् र उत्तरहरु ओठे प्रतिबद्धता मात्रै नहोउन् । शुभकामना छ’, उहाँले फेसबुकबाट भन्नुभएको छ ।

टिप्पणीहरू