एअरपोर्टबाट कबाडी हटाइँदै, हकदाबी पेश गर्न १५ दिनको समय

एअरपोर्टबाट कबाडी हटाइँदै, हकदाबी पेश गर्न १५ दिनको समय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बेवारिसे अवस्थामा रहेका पूराना कबाडी मालसामानहरु हटाउने भएको छ । 

नागरिक उड्डयन कार्यालयले आन्तरिक टर्मिनल, पार्किङ्गको उत्तरपूर्वी क्षेत्रमा लामो समयदेखि बेवारिसे अवस्थामा राखिएको पूराना कबाडी सामानहरु हटाउन लागेको हो । कार्यालयले आज सूचना जारी गर्दै सम्बन्धित व्यक्ति वा संस्थालाई आउँदो १५ दिनभित्र दाबी पेश गर्न पनि भनेको छ । 

आन्तरिकतर्फ प्रयोग हुने र्याम्प बसहरुको पार्किङस्थल निर्माण गर्नका लागि उक्त स्थान खाली गर्न लागेको कार्यालयले जनाएको छ । 

‘उक्त मालसामानहरु हालसम्म कसैले पनि दाबी पेश गर्न नआएकोले सो प्रयोगविहिन कबाडी सरसामानहरु उक्त क्षेत्रबाट हटाउनुपर्ने देखिएको हुँदा सम्बन्धित व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र दाबी पेश गर्न आउनुहुन अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ । 

त्यस्तै, तोकिएको समयावधिभित्र हकदाबी गर्न नआए कार्यालय आफैंले हटाउने र त्यसपछि कुनै पनि हकदावी नलाग्ने स्पष्ट पारिएको छ । यसअघि कार्यालयले विभिन्न वायुसेवा कम्पनीहरुलाई समेत आफ्ना संरचनाहरु हटाएर स्थान खाली गर्न भनेको थियो ।

टिप्पणीहरू