कान्तिपुरबाट गलहत्याइए कैलाश सिरोहियाको कर्तुत भण्डाफोर गरिदिने पत्रकारहरुको चेतावनी

कान्तिपुरबाट गलहत्याइए कैलाश सिरोहियाको कर्तुत भण्डाफोर गरिदिने पत्रकारहरुको चेतावनी

मुलुककै प्रमुख सञ्चारगृहको रुपमा स्थापित कान्तिपुर मिडिया ग्रुपले ठूलो संख्यामा कर्मचारी कटौतीको सुरसार गरेपछि श्रमजीवी पत्रकार संघले चासो देखाएको छ । 

कान्तिपुरका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाले मोफसलमा कार्यरत पत्रकारहरुलाई निकाल्ने वा तलब कटौती गर्ने निर्णय गरेपछि आक्रोशित संघले त्यसविरुद्ध आन्दोलन थाल्ने चेतावनीसमेत दिएको छ । संघका अध्यक्ष जन्मदेव जैसीले पत्रकारको तलब घटाउने कान्तिपुरको कदमको भण्डाफोर गर्नुपर्ने बताए । 

जैसीका अनुसार सिरोहियाले आफ्ना छोरासहित विभागीय हाकिमहरुलाई राखेर जिल्लाका ३० स्थायी र केही करार कर्मचारीलाई निकाल्ने निर्णय सुनाएका छन् । थापाथलीस्थित बिजनेश पार्कमा बढी तलब बुझ्ने पत्रकारको पनि तलब घटाउने तयारी गरेको उनको भनाइ छ । 

सामाजिक सञ्जालमा स्टाटस लेख्दै जैसीले सिरोहियालाई ‘भिखारी’ को संज्ञा दिएका छन् । उनले लेखेका छन्, ‘कथित कैलाश भगवान् (सिरोहिया) फेरि भिखारी भए रे, कि कर्मचारी कटौती गर्ने कि तलब घटाउने भन्छन् रे ।’ 

कान्तिपुर घाटामा गएको बहानाबाजी गरेर पत्रकार निकाल्ने र तलब घटाउने कार्य असह्य हुने बताउँदै आफ्ना साथीहरुलाई हटाइएको खण्डमा सिरोहियाको सबै कर्तुत भण्डाफोर गरिदिने चेतावनी पनि दिएका छन् । 

उनले भनेका छन्, ‘आफूलाई कैलाश पर्वतको महादेव ठान्ने कैलाशले हेक्का राखुन्, कोभिडमा घाटा भो भनेर सरकारबाट सहुलियत दरमा २० करोड रकम लिएर छोराको लगानी भएको ईसेवामा लगानी थप्ने, इन्सुरेन्समा लगानी गर्ने, अनि सुन तस्करीसँग व्यवसाय साझेदार गर्दै कान्तिपुर घाटामा गयो भन्ने बहानामा कर्मचारी कटौती र तलब घटाउने घटिया योजना तुरुन्त हटाऊ ।’

कर्मचारी निकालेको वा तलब कटौती गरेको खण्डमा बिजनेश पार्कस्थित कार्यालय र सिरोहिया निवास मण्डिखाटारमा धर्ना दिने र घेराउ गर्ने जैसीको चेतावनी छ । साथै, उनले सिरोहियालाई यसअघि दुई–दुई रुपैयाँ उठाएर बिजनेश पार्कमा बुझाएको घटना पनि स्मरण गराएका छन् ।

नेपालकै प्रतिष्ठित सञ्चार गृहको रुपमा चिनिएको कान्तिपुरले आफ्ना कर्मचारीलाई तलब दिन आनाकानी गर्ने तर, विभिन्न व्यवसायमा करोडौं लगानी गरेको भन्दै बेलाबेलामा आलोचना हुने गरेको छ ।

टिप्पणीहरू