बालकृष्ण पन्थी वीचैमा बेपत्ता

बालकृष्ण पन्थी वीचैमा बेपत्ता

नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका बालकृष्ण पन्थी हिजो दिउँसो एकाएक हराए । शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न हुँदै रकम असुलेको आरोप लागेपछि पूर्वमन्त्री, एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी गत सातादेखि बेपत्ता छन् । 

यसबीच भूतपूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती तथा सांसद डा. आरजू राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण (जुजु दरवारको उपनामले चिनिने) समेत उक्त काण्डको रकम लेनदेनमा संलग्न भएको नयाँ अडियो सार्वजनिक भएको छ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे,एमाले सरकारका गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित उनी र रायमाझीका छोरा सन्दीप प्रहरी हिरासतमा छन् । त्यसअघि गिरोहका पाँच जना गत चैत र बैशाख पहिलो साता पक्राउ परेका थिए ।

भुटानी शरणार्थी समस्या समाधान कार्यदलका संयोजक तथा पूर्वसहसचिव बालकृष्ण पन्थी हिजो दिउँसो ललितपुरको नख्खू क्षेत्रबाट एकाएक हराएका हुन् । जनआस्थाले वास्तविकताबारे प्रष्ट पार्न अन्तरवार्ताको निम्ति कुरा गर्दा पन्थी त्यसका लागि तयार भएका थिए । तर, पन्थीले दिएको समय दिउँसो २ बजे एकाएक उनको फोन अफ भयो । 
टेलिफोन वार्ताको क्रममा पन्थीले दिउँसो मेडिसिटी अस्पतालमा भेटेर कुराकानी गर्न तयार भएको जनाएका थिए । त्यही क्रममा उनले अहिले बाहिर आएको कार्यदलको प्रतिवेदन सबै नक्कली भएको दाबी गरेका थिए । तर, २ बजेपछि उनको मोबाइल फोन अन्य व्यक्तिले उठाए । पन्थी निकट स्रोत भन्छ, ‘ठ्याक्कै त्यही बेला उहाँलाई प्रहरीले बोलायो । काठमाडौं परिसर टेकूमा पुगेपछि उहाँको फोन प्रहरीले नियन्त्रणमा लियो ।’

लामै सोधपुछपछि पन्थीलाई पुनः बोलाएको बखत आउने शर्तमा परिसरले हिजो अपरान्ह छाडेको हो । हिजोको बयानमा उनले गिरोहका सदस्यहरुसँग धरानमाथिको भेँडेटार गएको,कोपुण्डोल उकालोको हिमालय होटलमा डिनर खाएको स्वीकारेका छन् । नेता रायमाझी लगायतसँग पटक पटक भेटघाट भएको पनि उनले बयानको क्रममा बताएको प्रहरी स्रोतको भनाइ छ ।
 

टिप्पणीहरू