काठमाडौँ महानगरलाई प्राधिकरणको जवाफ, 'तार व्यवस्थापन सजिलो छैन’

काठमाडौँ महानगरलाई प्राधिकरणको जवाफ, 'तार व्यवस्थापन सजिलो छैन’

नेपाल विद्युत प्राधिकरणले टेलिफोन र इन्टरनेटका तार एकै पटक व्यवस्थापन गर्न सहज नरहेको प्रतिक्रिया दिएको छ । 

काठमाडौँ महानगरपालिकाले बैशाख २७ गतेसम्म महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन अल्टिमेटम दिएपछि प्राधिकरणले तार व्यवस्थापनका निम्ति कार्य अघि बढाएपनि एकै पटक गर्न कठिनाई हुने बताएको हो । 

दशकौंदेखि टांगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवस्थापन गर्न कठिनाई हुने भन्दै प्राधिकरणले यसको व्यवस्थापनका लागि विभिन्न कार्य अघि बढाइरहेको जानकारी दिएको छ । प्राधिकरणका अनुसार अहिले तार व्यवस्थापनका निम्ति सडक निर्माण हुँदा ‘युटिलिटी डक्ट’ को व्यवस्था गर्न कानून निर्माण भइरहेको छ । 

त्यस्तै, दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न सरकारलाई यसअगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थापन हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणले महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघको सहकार्यमा सिंहदरबार वरिपरी, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघरलगायत पाटन दरबार क्षेत्रमा प्रयोगमा नरहेको तार हटाई बंडलिंग गरिएको समेत जानकारी दिएको छ ।

टिप्पणीहरू