बेपत्ता टोपबहादुरको पक्षमा उभियो एमाले

बेपत्ता टोपबहादुरको पक्षमा उभियो एमाले

नक्कली शरणार्थी काण्डमा मुछिएका एमाले सचिव,सांसद तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोराले करोडौंको चेक बुझेको समयमा उनी माओवादी नेता भएको एमालेले दावी गरेको छ । केपी ओली समर्थक साइबर सेना नामबाट सामाजिक सञ्जालमा राखिएको विवरणमा उक्त कुरा उल्लेख छ । 

चेक काटिएको मितिमा उनी एमाले नेता थिएनन् । तर अहिले एमाले नेताको रुपमा चेक बुझेझैँ प्रचार गरिएकोमा एमाले साइबर सेनाको आपत्ति रहेको देखिन्छ  । साइबर सेनाको भनाइ छ, ‘चेकको मिति १९–२–२०७६ रहेछ । यो मितिमा टोपबहादुर रायमाझी एमाले थिए कि माओवादी ? टोपे दाइ एमालेमा आएको २ वर्ष भयो । चेक ४ वर्ष अगाडि काटिएको रहेछ । गुईंठेहरु एमाले एमाले भनी उफ्रिँदैछन् । पार्टीले शुद्धिकरण गरोस्,यदि सत्य साबित भयो भने ।’ 

उक्त चेक रायमाझीका छोरा सन्दीपको नाममा काटिएको हो । टोपबहादुर गत बुधबार रातिदेखि बुटवलबाट फरार छन् । सन्दीपलाई बिहीबार बिहान काठमाडौं ल्याएर थप अनुसन्धान थालिएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । 

बादल गृहमन्त्री हुँदाताकाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । पछिल्लो डेढ महिनाको अवधिमा प्रकरणमा संलग्न अन्य पाँच जनालाई पक्रेर प्रहरीले अनुसन्धान थालेको छ । 

अनुसन्धानको क्रममा पक्राउ परेकाहरुले पूर्वगृहमन्त्रीद्वय थापा र बालकृष्ण खाँणको समेत संलग्नता भएको उल्लेख गरेको बुझिएको छ ।

टिप्पणीहरू