डेंगुको लक्षण देखिए तत्काल अस्पताल जान स्वास्थ्य मन्त्रालयको आग्रह

डेंगुको लक्षण देखिए तत्काल अस्पताल जान स्वास्थ्य मन्त्रालयको आग्रह

डेंगुको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य चौकी जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएको भन्दै मन्त्रालयले सतर्क हुन आग्रह गरेको हो । 

मन्त्रालयका अनुसार टाउको दुख्नु, थकाई लाग्नु, वाकवाकी लाग्नु, मांसपेशी तथा जोर्नी दुख्नु, वान्ता हुनु र एक्कासी ज्वरो आउनु डेंगु संक्रमणको लक्षण हो । 

त्यसैले, यस्ता लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य चौकी जान मन्त्रालयले अभानेको छ । योसँगै डेंगु संक्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न पनि मन्त्रालयको सुझाव छ । 

मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झयाल ढोकामा जाली हाल्न आमसर्वसाधारणलाई आग्रह गरेको छ ।  

त्यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन पनि मन्त्रालयको अनुरोध छ । 

डेंगु एडिस इजिष्टी एडिस आल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमण रोग हो । गत वर्ष नेपालमा डेंगु संक्रमण अत्याधिक भएको थियो । डेंगु संक्रमणका कारण ८८ जनाले ज्यान गुमाउँदा ५४ हजार ७८४ जना संक्रमित भेटिएका थिए । 

त्यस्तै, काठमाडौँ उपत्यकामा त्यसबेला डेंगुले महामारीकै रुप लिँदा यसको नियन्त्रणमा सरकार चुकेको थियो ।

टिप्पणीहरू